वाणिज्य विभागले आइतबारदेखि पास दिने

डिसी नेपाल
३ जेठ २०७७ २०:४१

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा दर्ता भएका फर्म तथा कम्पनीलाई पुनः नयाँ पासको व्यवस्था गरिएको जनाइएको छ ।

दर्ता भएका फर्मले आफू सदस्य रहेको सम्बन्धित छाता संस्थाबाट प्रयोजन खुलाएर विभागमा निवेदन दिएपछि मात्र सवारी पास अनुमति दिने व्यवस्था गरिएको सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार फर्म वा कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग व्यवसायी महासंघ, नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सबाट विभागले उपलब्ध गराएको ढाँचामा प्रयोजन खुलाएर निवेदन दिएपछि विभागले औचित्यका आधारमा व्यहोरा खोली आवश्यक संख्यामा नीलो रंंगको पास जारी गर्नेछ ।

विभागले स्थानीय तहले तोकेको समयमा वा समय नतोकेकामा बिहान र साँझ व्यावसायिक कारोवार सञ्चालनमा ल्याउने, कारोवार गर्दा मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने र म्याद गुज्रेका सामान अलगै राखी वितरकलाई नै फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

बिक्रीस्थलमा काम गर्ने व्यक्तिलाई सामाजिक दूरी कायम गरी मास्क, पञ्जा, स्यानिटाइजर तथा नियमित हात धुन र सकभर विद्युतीय कारोवार गरी ग्राहकलाई सेवाको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । एम्बुलेन्स, शव वाहन एवं औषधि तथा औषधिजन्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खाद्य वस्तु, निर्माण सामग्रीलगायत सवारी साधनलाई सवारी पास आवश्यक नपर्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *