सर्लाहीको रामनगर: कोरोना सङ्क्रमितको गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन

डिसी नेपाल
५ जेठ २०७७ ९:४३

सर्लाही । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौँमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताए ।

सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन् । “लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौँ गएकी बताइएको छ ।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो। यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *