जर्मनीमा बसेर नेपालतिर हेर्दा

के यसरी धान्न सक्छ नेपालले ?

कोरोना भाइरसले विश्वलाई बन्दाबन्दीमा धकेल्यो। कतिपय देशहरुमा यसलाई सामान्यीकरण गर्दै जनजीवन सहज बनाउने प्रयत्न शुरु भएका छन्। तर हाम्रो देश नेपालमा भने अब महामारीको रुप लिने संकेतका बादलहरु मडारिन थालेका छन्। एक अंक, दुई अंक हुँदै अहिले ३ अंकमा पुग्न कति बेर लाग्यो र? बेलैमा हामीले सचेत भइएन भने यो त भुसको आगो झैं सल्किएर ४ अंक अर्थात हजारमा अनि दशौं हजारमा जान धेरै टाढा छैन।

नेपालमा पहिलो संक्रमण पुष्टि भएको जनवरी २३ पछिको साढे तीन महिनामा सयजना पुगेको रेकर्ड देखिन्छ। तर पाँच दिनमा नै यो संख्या दोब्बर भयो र अर्को ५ दिनमा संख्या तेब्बर अर्थात ३ सय पुगेको थियो। स्वाब लिएर गरिने पीसीआर प्रविधिबाट परीक्षणको संख्या बढाइदै गर्दा संक्रमितको संख्या पनि बढिरहेको छ।

दुइ जनाको त मृत्यु भैसकेको छ। अब सरकारी अधिकारीहरुको भनाइलाई आधार मान्ने हो भने अबको हप्ता दिनमा एक हजार र त्यसको १० दिनमा २ हजार संक्रमित पुग्ने अवस्था छ । ( १७ मे २०२०, काठमाडौं पोस्ट, पत्रिका )

डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वभरी फैलिसकेको छ । तर आज वुहान शान्त र सामान्य जिवनयापनमा फर्किसकेको छ । इटाली, स्पेन, फ्रान्स, जर्मनीलगायत युरोपका अन्य देशहरुले केही हप्ता प्रतिवन्ध या लकडाउन गरे तर अब विस्तारै प्रतिवन्धहरु हटाइएका छन्।

प्रतिवन्धहरु हटेपनि पालना गर्नुपर्ने नियम, अपनाउनु पर्ने सुरक्षात्मक विधि, नाक मुख छोपिने गरी मास्क लगाउन अनिवार्य, सामाजिक दूरी कायम, ठूला सभा सम्मेलन गर्न प्रतिबन्ध, होटल रेष्टुरेन्टमा २ मिटरको दूरी कायम, निश्चित समय र संख्यामामात्र पाहुना लिन पाउने यस्ता प्रावधानहरु कायम छन्।

यी सरकारी नियम र आग्रहलाई जनस्तरले सकारात्मकरुपमा लिएर अवलम्बन गरेपछि जर्मनीको हकमा सक्रिय कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी हुँदै १५ हजारभन्दा कम संख्यामा आएको छ।

यो महामारीले धेरै देशहरुलाई उनीहरुको आन्तरिक व्यवस्थापन, आर्थिक, सामाजिक, राजनीतिक क्षमता मापन गर्ने एउटा कडीको रुपमा लिन सकिन्छ । संसारमा आफूलाई शक्तिशाली भनिने देशहरु गलत रणनीति र शुरुमा गाम्भीर्यता नदेखाएर आज चरम चपेटामा परेका उदाहरण बेलायत र अमेरिकाले दिइरहेका छन् । धेरैको संख्यामा धनजनको क्षति व्यहरोका युरोेपेली देश र अमेरिकाले अबको दिनमा आर्थिक अवस्थालाई गतिशिलता प्रदान गर्न प्रावधानहरु खुकुलो बनाएका छन्।

जर्मनीको बायर्नबाट नियालिरहँदा आज यो देशले कोरोनालाई विना लकडाउन जितेको आभाष भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो बारेमा चान्सलर एंगेला मर्केलले चालेको कदमको चर्चा परिचर्चा गर्दै कोरोना विरुद्धकी एक सफल नेतृको रुपमा परिचित गराएका छन्।

यो महामारीले धेरै देशहरुलाई उनीहरुको आन्तरिक व्यवस्थापन, आर्थिक, सामाजिक, राजनीतिक क्षमता मापन गर्ने एउटा कडीको रुपमा लिन सकिन्छ। संसारमा आफूलाई शक्तिशाली भनिने देशहरु गलत रणनीति र शुरुमा गाम्भीर्यता नदेखाएर आज चरम चपेटामा परेका उदाहरण बेलायत र अमेरिकाले दिइरहेका छन्।

नेतृत्वको मुल्यांकन संकटकै बेलामा हुने रहेछ, नेपालमा पनि यो लागू हुनसक्छ। हिजो जर्मनीमा मर्केलको राजनीतिक भविष्य नभएको, उनी अब विश्रामको अवस्थामा रहेका अड्कलबाजी गर्दै केही विष्लेषण हुदाँ कोरोनाविरुद्ध उनले चालेको कदम र देशमा एक प्रकारको आशा जगाउँदै कम क्षति गराएको भन्दै आज वाहवाही बटुलेकी छन्। संकटको बेलामा राज्यले पनि जनतालाई विश्वास दिलाउन सक्नुपर्ने र जनताले पनि राज्यप्रति विश्वास गरेर महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने रहेछ भन्ने यहाँबाट बुझिन्छ।

कोरोनाले आक्रान्त पार्दै लगेपछि प्रतिबन्ध आव्हान गर्दैगर्दा उनले दोश्रो विश्वयुद्ध पछिको ठूलो संकटको रुपमा लिएको बताउँदै यसका विरुद्ध लड्न सरकारलाई सबैले साथ दिन आव्हान गरिन् । यहाँका जनता कोरोनाबाट नभई नियम र प्रतिवन्धबाट डराए। अझ भनौं सरकार मेरो अभिभावक हो मैले यी नियम पालना गर्नुपर्छ, मैले नियम पालना गरेमा सरकारले चालेको कदममा सहयोग पुग्छ, हामी सबैलाई राम्रोका लागि यी नियमहरु जारी गरिएका हुन भनेर अनुशासित भए।

कोरोनाका कारण नेपालमा चैत ११ गतेबाट लकडाउन घोषणा भयो । यो सातौं चरणमा आइपुग्दा अब जेठ २० सम्मको लागि लकडाउन लम्ब्याइएको छ । स्पष्ट धारणा र योजनाविना लकडाउनमात्र लम्ब्याइरहदा जनमानसका राम्रो सन्देश जाँदैन । लकडाउन कोरोना भाइरसको फैलावटलाई रोक्ने एउटा गतिलो कदम हो तर लकडाउन मात्र गरेर यसले सकारात्मक नतिजा पक्कै दिने छैन।

सरकारले रातो, पहेंलो र हरियो क्षेत्र गर्दै जोखिमका क्षेत्रहरु छुट्याएर त्यही अनुसार लकडाउन कडा र खुकुलो बनाउने अवधारणा पनि अघि सार्नुपर्दछ । युद्ध स्तरमा परिक्षणको गति बढाएर संक्रमणको अवस्था हेरेरअन्यसफल मुलुकहरुको मोडल अवलम्बन गर्नुपर्ने हो । स्वास्थ्य सामग्रीको बेलैमा जोहो गर्न नसकेर विभिन्न व्यपारिक समूहको घनचक्करमा फस्दै सेनासम्म पुग्नु सरकारको कमजोरी हो।

चार महिना पहिलेनै नेपालमा कोरोना देखिदा न त सरकारमा न त जनस्तरमा त्यतिबेला गम्भीरता देखिएन, तयारीमा ध्यान नदिइएकै हो। आज त्यसैको असर हामी भोगिरहेका छौं। हामी पशुपतिनाथले रक्षा गर्छन्, बेसार, अदुवा पानी खानेलाई कोरोनाले छुँदैन भन्दै सामाजिक सञ्जालमाट्रोल बनाएर बस्यौं। आफ्नो प्रचार प्रसार गर्न र सामाजिक अभियन्ताको नाटक देखाउन राहतको नाममा भिड जम्मा गरेर गलत कामको नजिर बसाइयो।

काठकाडौं उपत्यका छाड्ने र भित्रनेको नाममा कति संक्रमित ओहोर दोहोर भए। सरकारले नियम नबनाएर हुकुमी शैलीमा प्रतिबन्ध जारी गर्दा चाहिंदा नचाहिँदा मान्छेहरु पास भएको बहानामा आवत जावत गरे। साँच्चै आवश्यक परेकोलाई पहुँच पुगेन। पत्रकारिता गर्ने नाममा क्यामेरा र ज्याकेट भिर्नेहरुले कतिलाई अप्ठेरोमा पारे। तिनीहरुलाई रोक्नुपर्छ भन्दा प्रेस स्वतन्तत्राको हनन भयो भन्दै कराउन थाले।

यिनै हुन हाम्रा कमजोरी तर अबका दिनमा हामीले खेलाचीं गर्ने हैन, नभित्रनु भित्रिसक्यो अब संक्रमण फैलिन्छ, अझ फैलिन सक्छ, मान्छे मरिसके, अरु पनि मर्न सक्छन्। यी विषयलाई हामीले अब स्वीकार्नु पर्छ। विश्वका कस्ता कस्ता देशमा पनि हजारौं मान्छेहरु मृत्युवरण गरे। तर चुरो कुरो के हो भने हामीले कति सावधानी अपनाउँछौं, न्युनभन्दा न्युन क्षति हुन दिन्छौं भन्ने कुरालाई मध्यनजर गरेर अघि बढ्ने हो।

अब हामी लकडाउन मै बस्ने हो यो बेला। तर कसरी बस्ने ? के गर्ने भन्ने कुरा महत्वपूर्ण हो । सरकारी नियमको पालना गर्नु जिम्मेवार नागरिकको कर्तब्य हुन आउँछ । एउटा विन्दुसम्म संक्रमणको दर दिनानुदिन बढ्छ। संक्रमितहरु एकान्तबासमा बस्नुपर्छ, तर यो भनिरहदा सरकारले सबै सत्रंmमितलाई सरकारी व्यवस्थापनमा एकान्तबासमा राख्नुपर्छ भन्दा यो असम्भव र भयावह अवस्था आउन सक्छ।

पर्साका ११ कोरोना संक्रमितलाई अझै अस्पताल लगिएन शीर्षकको बैशाख ११ गते छापिएकोसमाचारले हाम्रो कम चेतना स्तरलाई पुष्टि गरेको देखायो। कोरोना संक्रमण देखिने वित्तिकै अस्पताल जानुपर्ने होइन । घरमै सरसफाइ र नियम पालना गरेर एकान्तबासमा बस्ने हो।

चिकित्सक र विज्ञहरुको सल्लाह सुझावअनुसार घरमै सुरक्षित भएर अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्नुपर्छ। संक्रमित हुने वित्तिकै अस्पताल जाने हो भने भोलिका दिनमा देशमा अस्पतालले कसरी धान्न सक्छ भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ। जसको उत्तर हुन्छ, अहँ धान्न सक्दैन।

क्वारेन्टाइनमा जनता राखेर परिक्षण नगरिनु एकदमै गलत हो। क्वारेन्टाइनमा रहेकाको कोरोनाबाट मृत्यु हुनुले स्थिति गम्भीर देखाउँछ। क्वारेन्टाइको नाममा मान्छेको भिडलाई कुनै बन्द स्थानमा राख्नु झन् घातक हुनेछ । सबैलाई आवश्यक व्यक्तिगत सरसफाइका सामान र दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन गर्न पनि कठिन हुन्छ।

अहिलेको अवस्थामा आफ्नै घरमा, आफ्नै कोठमा क्वारेन्टाइनमा बसेर महामारीविरुद्ध लड्न सहयोग गर्ने हो। एक पत्रकारले म चाउचाउ खाएर अस्पतालको आइसोलेसन वार्डबाट लेखिरहेको छु भनेर लेख्दै गर्दा सोच्न बाध्य भइयो कि के उनको उत्तरदायित्व यही हो। स्वास्थ्यमा समस्या नभई कोरोना संक्रमण देखिएकै भरमा एम्बुलेस चढेर अस्पतालमा बस्नुपर्ने किन ? आफ्नै घरमा बसेर आवश्यक सुरक्षात्मक अवस्था अवलम्बन किन नगरेको ?

दीर्घरोगी, बृद्धा बा आमा, गर्भवती र सुत्केरीलाई विशेष ख्याल गर्नुपर्छ। नाति नातिनालाई हजुरबा हजुरआमाबाट केही समय टाढा राखौं। यो भन्दा नमज्जा लाग्छ, यसै भनेकी थिइन्, जर्मन चान्सलर एंगेला मर्केलले पनि। उनको नेतृत्वमा रहेको देशले आज कोरोना फैलावटलाई नियन्त्रणमा लिएको दावी गरेको र कम क्षति गराउन सफल भएको छ । हामीले पनि सकेसम्म सफल राष्ट्रहरुले चालेका कदमहरु पछ्याउनुपर्छ।

भोलिका दिनमा सबैलाई यसरी अस्पतालमै राख्नुपर्छ भन्दा कति धान्छ नेपालले ? आजका दिनमा संक्रमितको सख्या कम छ। त्यसैले यो ठिक होला तर गलत नजिर भने अवश्य बस्नेछ । गम्भिर कोरोनाका विरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।

तर सामान्य विरामीले नै अस्पताल भरिएमा गम्भिर विरामीले के गर्ने ? कति मान्छेसम्म मात्र अस्पतालले लिने ? माइ रिपब्लिकाको ८ अप्रिलको समाचार हेर्ने हो भने नेपालले ५ हजारभन्दा कोरोनाका विरामी थेग्न सक्दैन । सरकारी संयन्त्रका अनुसार जम्मा ६ सय ओटा भेन्टिलेटर छन, काठमाडौंमा ४ सय र काठमाडौं बाहिर २ सयको संख्यामा।

तर सरकारको दावीलाई स्वास्थ्य क्षेत्रका स्टेक होल्डरहरु गलत भएको दावी गर्छन । उनीहरुका अनुसार ३ सय ६० ओटा छन्, त्यही पनि २५ प्रतिशत विग्रेका छन् । काम लाग्ने त जम्मा २ सय ४३ ओटा छन्। अब सोचौं हामी, यसमा पुराना विरामीका लागि पनि केहि भेन्टिलेटर आवश्यक पर्छ । केही प्रयोगमा छन् । अनि हामीले आफैं, आफ्नै घरमा सावधानी अपनाएर अस्पताल नै रोज्न थालेमा के हुनेछ ? म बसेको देश जर्मनीमा १ लाख ७५ हजारभन्दा बढी संक्रमित हुँदा जम्मा २५ हजार संक्रमितमात्र अस्पताल गएको रिपोर्ट छ ।

त्यसैगरी अहिले नेपमालमा पहुँचको भरमा कोरोना परिक्षण गराउने नाउँमा फेसन चलेको रहेछ । यो गलत हो । आफ्नो ट्राभल हिस्ट्री, सम्पर्कमा आएका मानिसको स्वास्थ्य अवस्था आदि बारे बुझेर मात्र परिक्षणमा जाने हो । कान्तिपुर एफएमको १८ मे को एउटा समाचारमा टेकुमा परिक्षण गराउने भिड र आफु ढुक्क हुन चाहेको प्रतिक्रया सुनेपछि उदेक लाग्यो । एक हदमा सहि हो, आफू संक्रमित छु या छैन भनेर ढुक्क भएर बस्नु, तर समय र परिस्थितीको ख्याल गर्नुपर्छ या पर्दैन ?

गाउँमा बसेको मान्छे नेगेटिभ नतिजाको प्रमाणपत्र देखाउन सरुवा रोगको उपचार हुने अस्पतालको भिडमा ठेलमठेलमा सहभागी छ । यसले संक्रमण जोखिमलाई बढाउँछ की घटाउँछ ? हामी किने जिम्मेवार नबनेको ?

मैले माथि नै उल्लेख गरिसके संक्रमणको दर बढ्न सक्छ, मानिस मर्न सक्छन् । त्यो भन्दैमा आफूलाई कमजोर सोच्ने हैन, आफ्नो आत्मबल बढाउने, खानपिनमा ध्यान दिने, नियमित व्यायाम गर्ने, समाजमा वितिरहेका यी विषयलाई स्वीकार गर्दै उत्पादनमुलक काममा बढी ध्यान दिनुपर्छ ।

दीर्घरोगी, बृद्धा बा आमा, गर्भवती र सुत्केरीलाई विशेष ख्याल गर्नुपर्छ। नाति नातिनालाई हजुरबा हजुरआमाबाट केही समय टाढा राखौं। यो भन्दा नमज्जा लाग्छ, यसै भनेकी थिइन्, जर्मन चान्सलर एंगेला मर्केलले पनि। उनको नेतृत्वमा रहेको देशले आज कोरोना फैलावटलाई नियन्त्रणमा लिएको दावी गरेको र कम क्षति गराउन सफल भएको छ । हामीले पनि सकेसम्म सफल राष्ट्रहरुले चालेका कदमहरु पछ्याउनुपर्छ।

हाम्रो देश नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यो बेला अधिकांश सहरबासी दाजुभाई दिदीबहिनीहरु आफ्नो गाउँ फर्किनुभएको छ । सामान्यतयाः गाउँमा भिडभाड हुँदैन, झन अहिले त हुने कुरै भएन। आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिदै तपाई आफू जहाँ हुनुहुन्छ, त्यहीं सुरक्षित हुने हो। प्रायः आजकाल अधिकांशको घरमा टेलिभिजन, इन्टरनेटको पहुँच छ।

यसलाई हामीले सही सदुपयोग गर्दै रचनात्मक कार्यका सामेल गराउने हो । सामाजिक दुरी कायम भनिएपनि यो एक भौतिक दुरी हो । तर विभिन्न सामाजिक सञ्जालबाट हामी आफ्ना आफन्तजन, साथीभाइसँग सम्पर्कमा भइरहनु पर्छ। एकान्तमा हुँदा मनमा विभिन्न विषयहरु खेल्ने हुँदा यसरी भर्चुअल कुराकानीबाट पनि टाढापनलाई हटाएर रमाइलो गर्न सकिन्छ । खेतबारीमा काम गर्दै, विभिन्न हरिया सागपात, तरकारीहरु उत्पादन गर्दै दैनिक उपभोग गर्न सकिन्छ।

यो बेला घर नजिकैका जंगलमा रहेका कन्दमुल, विभिन्न तरकारीहरु खान सकिन्छ । तर स्वास्थ्यका लागि हानिकारक छैनन् भन्ने निश्चिन्त भने हुनुपर्दछ । प्रकृतिसँग भिज्नुहोस, आफूलाई ताजा र सक्रिय राख्नुहोस । कोरोना लाग्दैमा मरिदैंन, कोरोना लाग्ने वित्तिकै अस्पतालमा जानुपर्दैन, जानुपर्ने अवस्थानै आएपनि आइसियुमा जानुपर्दैन, आइसीयुमै गएपनि भेन्टिलेटरमा जानुपर्दैन, भेन्टिलेटरमै जानुपर्ने भएपनि ५० प्रतिशत बाँचिन्छ । स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् ।

( डा. अधिकारी जर्मनीको बायर्न स्थित Bayreuth विश्वविद्यालयसँग आवद्ध छन्। )

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position