साउदी अरबमा १७ महिलासहित १३ सय ६४ नेपाली कोरोना भाइरसबाट संक्रमित, ७ जनाको मृत्यु

डिसी नेपाल
८ जेठ २०७७ २१:२४

काठमाडौँ । खाडीमुलुक साउदी अरबमा १३ सय ६४ नेपाली श्रमिक कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार संक्रमितमध्ये ७ जना नेपालीको मृत्यु भएको छ । कुल संक्रमितमध्ये १७ जना महिला कामदार रहेको दूतावासले जनाएको छ ।

दूतावासलाई प्राप्त विवरण अनुसार संक्रमित नेपाली राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना नेपाली संक्रमित भएका छन् ।

साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च रहेको दूतावासको भनाइ छ ।संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको छ । तर, निको हुने नेपालीको संख्या भने खुलाइएको छैन् ।

दूतावासले मे २३ देखि २७ सम्मका लागि साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको अनिवार्य पालना गर्न समेत त्यहाँ रहेका नेपालीलाई अपिल गरेको छ ।

खाडीमुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी साउदी अरब प्रभावित भएको छ । साउदीमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या ६५ हजार नाघेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप २ हजार ५ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ६५ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार साउदीमा कोरोना भाइरसले ३ सय ५१ जनाको ज्यान लिएको छ । बिहीवार मात्रै १२ जनाले ज्यान गुमाएका हुन् ।

साउदीमा उपचारपछि निको हुनेको संख्या पनि धेरै छ । हालसम्म संक्रमितमध्ये ३६ हजार ४० जना उपचारपछि संक्रमणमुक्त भएका छन् । बिहीबार मात्रै २ हजार ५ सय ६२ जनाले स्वास्थ्य लाभ गरेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *