यसरी आउँदै छ प्रकृतिमा प्रलय

‘जैविक विविधताविना मानवको भविष्य छैन’

अक्सफोर्ड विश्वविध्यालयका प्राध्यापक म्याकडोनाल्डको यो भनाइले नै बताउँछ, जैविक विविधता कत्तिको महत्व छ मानिसको लागि भनेर । हुन पनि विश्व अर्थतन्त्रको झण्डै ४० प्रतिशत र गरिव अल्पसंख्यक जातिको झण्डै ८० प्रतिशत स्रोत नै यिनै जैविक वस्तुहरुमा निर्भर गर्दछ।

जैविक विविधताको यही विश्वब्यापी महत्वलाई आत्मसाथ गर्दै चेतना अभिबृद्धिका लागि जैविक विविधता महासन्धिमा हस्ताक्षर भएको दिनको संझनामा संयुक्त राष्ट्र संघको महासभाले सन् २००० बाट हरेक वर्ष आजको दिन (मे २२ ) ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ मनाउने घोषणा गरे बमोजिम ‘हाम्रा समाधानहरु प्रकृतिमा छन्’ भन्ने नाराका साथ यो बर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ।

के हो त जैविक विविधता ?
हाम्रो वरपर धेरै किसिमका जीवहरू हुन्छन्। जे जे छन्, तिनीहरुको अन्तरसम्बन्ध, अरुसँगको सम्बन्ध र एउटा भौगोलिक क्षेत्रमा रहेका सम्पूर्ण जीवहरुकबीचमा हुने समष्टिगत सम्बन्ध नै जैविक विविधता हो। पारिस्थितिक तथा भौगोलिक विविधताको उपज नै जैविक विविधता हो। यसले आनुवांशिक तथा प्रजातिगत र पर्यावरणगत सबै विविधतालाई समेट्छ।

जैविक विविधतालाई अनुवंशिक तहदेखि लिएर वृहत् पारिस्थितिक तहसम्म अध्ययन गर्न सकिन्छ र यसले जीवहरुको अन्तरसम्बन्धको व्याख्या गर्छ। जैविक विविधताले संसारका जल‚ स्थल‚ समुन्द्र तथा सिमसारमा सबै क्षेत्र रहेका सबै जीवित प्राणी तथा वनस्पतिवीच पाइने फरकपन‚ प्रकार तथा तिनिहरुवीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ।

पारिस्थितिक विविधताले जीवजन्तुहरु र तिनीहरको वातावरणसँगको अन्तरसम्बन्धलाई जनाउँछ भने प्रजाति विविधताले प्राणीहरुको र वनस्पतिहरुको विविधतालाई चिनाउछ । वंशानुगत विविधताले बाबुआमा र उनीहरुको छोराछोरीमा भएको आनुवांशिक विशेषतालाई जनाउँछ।

जीवशास्त्रीहरुले पृथ्वीमा हुन सक्ने करिब ३० लाखदेखि ५ करोड प्रजातिमध्ये करिब १८ लाख जीव तथा वनस्पतिका प्रजाती पत्ता लगाइसकेका छन् । अझै ठूलो संख्यामा प्रजातिहरु पत्ता लगाउन बाँकी नै छन्। ती मध्ये कतिपय त मानिसले थाहा नपाईकनै विलुप्त भैसकेका वा हुने क्रममा छन् । यसबाट पनि हामी बुझ्नसक्छौ पृथ्वी जैविक विविधता मानिसको पहुँच भन्दा धेरै टाढाको कुरा हो भनेर । यी १८ लाख जैविक विविधतामा मानवजातिले १ मात्र भाग जनाँउछ ।

मानिस पनि जैविक विविधताको एउटा अंग हो । मानिसलगायत समस्त जीवनलाई अनवरत जिउँदै राख्न, सफल र सार्थक बनाउन जैविक विविधता अत्यावश्यक छ। यस धर्तिमा मानिस नरहे पनि जैविक विविधता रहिरहन्छ तर जैविक विविधताविना मानिस केही निमेषमा नै सखाप हुन्छ । सामन्यतया पृथ्वी बचाउनको लागि प्राकृतिकरुपमा मानवजातिको भूमिकाभन्दा मौरीजातिको किराको भूमिका महत्वपूर्ण हुन्छ।

नेपाल जैविक विविधतामा जति धनी छ, त्यति नै प्राकृतिक सम्पदा विनास हुने कुरामा पनि अगाडि नै छौं । केही तथ्याङ्कहरुलाई मान्ने हो भने नेपालमा भएका बोटविरूवा र जीवजन्तु मध्ये ९ प्रजाती वनस्पति, ५५ प्रजाती स्तनधारी, १४९ प्रजाती चरा, ६४ प्रजाती उभयचर, २१ प्रजाती माछाहरू मानवजन्य गतिविधि नियन्त्रण नभए निकट भविष्यमा चाडै नै विनास हुनेछन् । त्यसो त नेपालले बन्यजन्तु जोगाउने प्रयास नगरेको भने होइन ।

तर पछिल्ला केही वर्षहरुमा मानव केन्द्रित प्राकृतिक अधिक दोहनले जैविक विविधतामा डरलाग्दो गतिले गिरावट आइरहेको छ । मानिस प्रजातिको उत्पति हुदाँताका पृथ्वीमा जति जीवजन्तु थिए, ती मासिएर आज झण्डै १० प्रतिशतमात्रै जीवित रहेका छन् ।

जैविक विविधता मासिने क्रम हालैका दिनहरुमा निकै कहाली लाग्दो दरले बढिरहेको छ। साढे ६ करोड वर्ष पहिले उल्कापिण्ड पृथ्वीमा ठोकिएर डाइनोसर लगायत धेरै प्रजाति मासिने दरभन्दा आज जीवजन्तु मासिने दर हजारौं गुनाले धेरै छ । यसरी प्रजातिका विनासमा प्राकृतिक विचलनसँगै मानिसको पनि निकै महत्वपूर्ण भूमिका रहेको छ ।

आज मानिसकै कारण जैविक विविधता दिनप्रतिदिन विनास भइरहेको छ । यसले एकातिर प्राकृतिक प्रणाली नासिँदै लगेको छ भने अर्कोतिर जैविक विविधतालाई संकटापन्न अवस्थामा पुर्याएको छ । मानिसको भौतिक विकासले कहिले पनि प्रकृतिलाई जित्न सक्दैन। प्रकृतिको आफ्नै नियम र गति हुन्छ र यो सबै जीवलाई समान रुपमा लागु हुन्छ । त्यही गति र नियमले नै परिवर्तन भैरहन्छ, यसलाई रोक्न सकिन्न।

ढिलो वा चाडो प्रकृतिको नियम सबैले मान्नै पर्छ । मानिसले पृथ्वीमा भएका सबै जीव जन्तुलाई उत्तिनै महत्व दिनु पर्छ र सहअस्तित्वलाई स्वीकार्नु पर्छ । मानव जातिको विकासको लागि अरु जीवजन्तुको विनास गर्न खोज्नु भनेको मानिस आफ्नै विनासको बाटोमा हिड्नु नै हो । जबसम्म मानिसले मौरी विना आफू बाच्न सक्दैन तर मानिस बिना संसार चलिरहन्छ भन्ने बुझ्न सक्दैन तब सम्म प्राकृति स्रोतमाथिको दोहन बढिरहन्छ।

मानवजातिले पृथ्वीमा भएका ५ वटा महाप्रलयहरु कुनै पनि भोगेको छैन, न त त्यसको लागि तयार नै छ । बैज्ञानिकहरु मानिसहरुकै कारणले छैठौं महाप्रलयको शुरुवात भैसकेको विश्वास गर्छन् । मानव जातिको उत्पति भएकै कति वर्ष भएको छ र ? लगभग १ लाख २० हजार वर्ष त भयो । यो समय जीव विकासको लागि ज्यादै छोटो समय हो । उत्पति भएको यति छोटो समयमा आफ्नै गतिविधिले विनासको बाटो समातिसकेको छ ।

आफू मात्र होइन मानव जातिभन्दा पहिलेदेखि नै पृथ्वीमा रहेका जीवजन्तुलाई पनि विनास गराउँदैछ। जैविक उत्पत्तिको इतिहास हेर्ने हो भने मानव जातिको उत्पत्तिअघि देखापरेका जीवहरु मानवजातिको विकाससँगै हराउन शुरु गरेका थिए ।

मानवीय क्रियाकलापका कारण कैयन जीवहरुको वंश नै नै विनास भैसकेका छन् भने कतिपय संकट उन्मुख भएका छन् । वैज्ञानिकहरुका अनुमान अनुसार वासस्थान विनासको कारण दैनिक १५० प्रजातीका जीवहरू (बार्षिक ५५ हजार) मासिइरहेका छन्। मासिने क्रम यही गतिले बढेमा सन् २०५० सम्ममा हामीसँग भएका वनस्पति र जीवजन्तु घटेर आधामात्रै रहने छन् ।

नेपाल र जैविक विविधता

भौतिक सुचांकहरुमा नेपाल पछाडि परे पनि प्राकृतिक र जैविक सुचांकमा भने निकै धनी छ । नेपाल क्षेत्रफलको हिसाबले झण्डै सयौ स्थानमा रहे पनि जैविक विविधताले भने एशिया माथिल्लो ११औ स्थान र सम्पुर्ण विश्वमा २५औ स्थान रहेको छ।

नेपाल सरकार कृषि मन्त्रालयले सन् २०१७ मा प्रकाशन गरेको जानकारी अनुसार नेपालमा १८ किसिमका पारिस्थितिक प्रणाली, १२ किसिमका पर्यावरणिय क्षेत्र, ८ किसिमका हावापानी क्षेत्रहरू छन् । विश्वमा पाईने कुल जीव प्रजातीको १.१ प्रतिशत र कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत नेपालमा पाइनुले पनि हामी जैविक विविधतामा कति धनी छौं प्रष्ट देखिन्छ ।

केही बर्ष पहिले प्रकाशित तथ्याङ्कअनुसार नेपालमा ७ हजार जातका फूलफुल्ने विरूवा, ५ हजार जातका फूलनफुल्ने विरूवाहरू गरी झण्डै १२ हजार वनस्पति पाइन्छन्। त्यसैगरी ८८६ जातका चरा, २३० जातका माछा, २१२ जातका स्तनधारी जीब, ६५१ जातका पुतली, ४ हजार मोथ (पुतलीजस्तै) जातका किरा, ५ हजार जातका अन्य किराफट्याङ्ग्राहरू गरी झण्डै १२ हजार नै जीवजन्तु पाइने उल्लेख छ ।

सर्सर्ती हेर्दा पुरै युरोपमा भन्दा नेपालमा बढी चराचुरुङ्गी पाइन्छन् भनेको हो । यीमध्ये कतिपय त रैथाने जातका प्रजातिहरु छन्, जो नेपाल बाहेक अन्त कतै पाइदैनन्। पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने ३१४ प्रजातिका फूलफुल्ने वनस्पति, १६० प्रजातिका जनावरहरू, १४ प्रजातिका उभयचर, १६ प्रजातिका माछाहरू संसारमा अन्त कतै पाइदैन । नेपालबाट विनास हुनु भनेको संसारबाटै सधैको लागि हराँउनु हो।

कृषिक्षेत्रमा पनि हाम्रो जैविक विविधता कम छैन । झण्डै ५५० किसिमका खेतियोग्य अन्नबाली हामीसँग छन् जसमध्ये ४०० प्रजाति खेतिको प्रचलनमा छ । नेपालमा भएका लगभग १७०० औषधिजन्य वनस्पतिका प्रजातीमध्ये २५० जतिको व्यबसायिक उत्पादन सम्भव भएपनि झण्डै ३ दर्जन प्रजातीको मात्रै खेति भैरहेको छ। हाम्रा खानेकुराहरुमा जैविक विविधता जति धेरै हुन्छ त्यति नै खानेकुरामा पनि विविधता आउँछ र असल स्वास्थ्य बन्नलाई चाहिने पोषकतत्व उपलब्ध हुन्छ।

तर दुःखको कुरा, हामी जैविक विविधतामा जतिसुकै धनी भए पनि यसको महत्व र संरक्षणको बारेमा ज्ञान नहुँदा “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड” जस्तै भएको छ।

नेपाल जैविक विविधतामा जति धनी छ, त्यति नै प्राकृतिक सम्पदा विनास हुने कुरामा पनि अगाडि नै छौं । केही तथ्याङ्कहरुलाई मान्ने हो भने नेपालमा भएका बोटविरूवा र जीवजन्तु मध्ये ९ प्रजाती वनस्पति, ५५ प्रजाती स्तनधारी, १४९ प्रजाती चरा, ६४ प्रजाती उभयचर, २१ प्रजाती माछाहरू मानवजन्य गतिविधि नियन्त्रण नभए निकट भविष्यमा चाडै नै विनास हुनेछन् । त्यसो त नेपालले बन्यजन्तु जोगाउने प्रयास नगरेको भने होइन ।

२७ प्रजातीका स्तनधारी, ९ प्रजातीका चरा, ३ प्रजातीका उभयचर, १४ फुल फुल्ने वनस्पतिलाई सुचिकृत गरी सरकारी तवरबाट संरक्षणको प्रयास गरिएको छ। संरक्षणकालागि भनेर सन् १९७३ देखि नेपालमा राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्तरगत केही क्षेत्रहरु संरक्षित गरी झण्डै २४ प्रतिशत भुभागमा जैविक विविधतालाई सुरक्षा दिइएको छ । तथापि संरक्षणका प्रयासहरु अझै प्रयाप्त छैनन् । जबसम्म हरेक मानिसले जैविक विविधताको औचित्य र मानवजीवनवीचको अन्तरसम्बन्ध बुझ्न सक्दैन तबसम्म संरक्षणका हरेक प्रयास असफल हुन्छ ।

कोरोनाको कहर र जैविक विविधता
अहिले समस्त मानव प्रजाति कोरोना भाइरससँग लड्दैछ । हाम्रा मानसिक, भौतिक र आर्थिक शक्तिहरु एकजुट भएर मानव वंश जोगाउन संघर्षरत छौं । यो महामारीको कारण खोज्दै जाने हो भने फेरि मानवजन्य गतिविधमै आएर टुङ्गिन्छ । अहिले मानिसलाई कोरोना भाइरसले सिमित क्षेत्रमा थुनेर राखेको छ। यसको कारण कतिपय ठाँउमा वन्यजन्तु खुला ठाँउमा निस्केको समाचारहरु आएका छन् । प्रकृति अझै सुन्दर देखिएको सुनिन्छ ।

वास्तवमा यो क्षणिक समयको लागि भएकोले खुशी हुनुपर्दैन । बरु कोरोनाको कहरको वीचमा वनविनास बढेको हुनसक्छ, वन्यजन्तु मारिएको हुनसक्छ, प्राकृतिक स्रोतको दोहन बढेको हुन पनि सक्छ । अथवा कोरोना पछि विनासको क्रम झन उग्ररुपले बढ्नसक्छ किनकि कतिपय समुदायको रोजिरोटी कोरोनाले खोस्न सक्छ । वास्तविकता त कोरोनाको कहरपछि नै थाहा हुन्छ ।

के गर्न सक्छौं त हामी?
सरकार, देश, जनता वा क्षेत्रले मात्र जैविक विविधताको संरक्षण सम्भव छैन । मानिसको लागि आफ्नो देश होला, वन्यजन्तु र वनस्पतिको कुनै देश हुदैन, पुरै पृथ्वी उनीहरुको घर हो । हामी आफ्नो भौतिक सुख सुविधाको लागि प्राकृतिक स्रोतको अधिक दोहन गर्छौ।

फलस्वरुप प्राकृतिक बासस्थानको विनास हुन्छ र जीवजन्तु मासिन पुग्छन् या त अर्को वासस्थानको खोजीमा भौतारिदा उत्परिवर्तनको शिकार हुन्छन् । त्यसैले जैविक सहअस्तित्वको सिध्दान्तमा आधारित भएर प्राकृतिक स्रोतको बुध्दिमतापूर्ण प्रयोग गर्नुपर्छ।

जनसंख्याको बढदो चाप र तीब्र वन फडानीले प्राकृतिक वातावरणमा परेको चापलाई घटाउन जरुरी छ । जब सम्म काठ, दाउँरा, घाँसपातमा आधारित भएर जीवन चलाउनु पर्छ तबसम्म वनविनास रोकिदैन । गाँउमा गाईबाख्रा खुला चरनमा पाल्ने किसानलाई जंगलको चितुवा मार्न हुदैन भनेर सिकाउनु बेकार छ बरु चितुवा नमार्दा गाईबाख्रामा रोग किन कम लाग्छ भनेर बुझाउन सकेमा संरक्षणको अगुवा नै त्यही किसान हुन्छ ।

परम्परागतरुपमा चलिआएको प्राकृतिक स्रोत र साधनको निर्भरतालाई घटाउदै दिगो संरक्षणका लागि वैकल्पिक पेशाहरुको पहिचान गरी आर्थिकरुपमा सबल बनाउन सक्नु अर्को चुनौति हो । यसका लागि जनजाति, स्थानिय समुदाय, संरक्षण समुह, सरकारी तथा गैरसरकारी समुहको समन्वयात्मक भावनाको खाँचो छ।

अहिलको विश्वको जल्दोबल्दो समस्याको रुपमा रहेको विश्व उष्णीकरण, वनविनास, मरुभुमिकरण, हरितगृह प्रभाव, बढ्दो उर्जाको खपत, भुमिगतजलविनास, ओजनको क्षयीकरण, वायुप्रदुषण, सिमसार क्षेत्रको विनास, खाध्य असुरक्षा, बढ्दो वनडढेलो जस्ता समस्याहरुलाई सम्बोधन गर्नको लागि अन्तरदेशीय, क्षेत्रीय तथा अन्तराष्ट्रिय शक्तिको निर्माण गरी जतिसक्दो प्रयास शुरु गर्नुपर्छ।

देशको आर्थिक विकासका लागि ठूला भौतिक संरचनाहरू निर्माण गर्नुपर्छ । यस्ता आयोजनाहरु संचालन गर्दा जैविक विविधतामा प्रतिकूल असर नपारी वातावरण तथा जैविक सम्पदाको पहिचान गरि दिगो व्यबस्थापन गर्नुपर्छ । सकेसम्म यसरी हुने क्षति न्युनिकरण तथा समायोजन र वैकल्पिक उपायहरु पहिचान गर्नुपर्छ।

नेपाल जस्तो देशमा मिचाहा प्रजातिका वनस्पतिको व्यबस्थापन पनि निकै समस्या बन्दै गइरहेको छ। गएको ५० बर्षभित्र ७० प्रतिशत मिचाहा जीवले १५ जातभन्दा बढी स्थानीय अन्नबालीलाई सङ्कटमा पारिरहेको तथ्याङ्कले देखाउछ । यसलाई जैविक व्यबस्थापन र समुचित सदुपयोग गर्न सकिएन भने यसले भोलि खाद्यसंकट ल्याउन सक्छ ।

गएको १०० वर्षमा कृषिजन्य पदार्थको विविधतामा ९० प्रतिशत घटेको छ । स्थानिय प्रजातिका जनावरका आधाजसो बीउको ठाँउ विकासे प्रजातिले लिएको छ। यसले उत्पादन त बढाउला तर विविधता हराउदै गएको छ। रैथाने खानेकुरा हराउँदैछन् मकैका स्थानिय जातिको विनाससँगै वेस्वादिला सुधारिएका जातहरुले खेतबारी ढाकेका छन् ।

गुन्द्रुक, गाभा, आलु, मकै, गहूँको पुराना स्वाद हराएका छन् । आदिवासीका सीपसँगै खानाका परिकार हराएका छन् । स्थानीय उत्पादन लोप भएको छ  परपरागत औषधी आर्यघाटमा पुगेको छ । यसले एकातिर अनुवांशिक विविधता लोप हुदैछ भने अर्को्तिर भोलिको लागि स्रोत पनि विनास गरेको छ ।

सांस्कृतिक विविधताको रुपमा रहेको नेपालको जैविक विविधताको अंश पनि विनासको मुखमा छ । हिन्दु वा बौद्ध धर्मका प्रचलनमा रहेका कतिपय संस्कारहरुमा चाहिने वनस्पतिको विकल्पको खोजी हुन शुरु भएको छ वा प्रचलन नै छाडिएको छ।

संस्कारलाई समयोचित सुधार गर्न सकिएमा बर, पिपल, तुलसी, चिउरी, शमी, दुवो, कुश, पलास, अमला, बर्रो, बर्रो, खयर जस्ता सयौं वनस्पति जोगाउन समस्या पर्दैन । औशी, पूर्णिमा, दशै, श्राध्द, जन्म, मरण, होम, पन्ध्र असार, पन्ध्र पुष, माघे संक्रान्ती, साउने संक्रान्ती, आदि जस्ता मौलिक चाडपर्वमा चाहिने वनस्पतिले पनि जैविक विविधता संरक्षणमा केही न केही सहयोग पुर्याएको छ। संरक्षणको पहिलो र अन्तिम बिन्दु नै स्थानिय समुदाय हो।

उनीहरुको सहयोगविना जैविक विविधताको संरक्षण सम्भव नै छैन । यसका लागि स्थानीय जनसमुदायसँग भएका पररागत ज्ञानको पहिचान गरी, प्राकृतिक स्रोत सदुपयोगबाट आउने आर्थिक नाफाको लाभांश बाँडफाँड हुने कुराको सुनिश्चितता प्रदान गर्नुपर्छ । अपनत्व र संरक्षणको बोध नभएसम्म जैविक विविधता संरक्षणमा जनसहभागितामा प्रभावकारी हुदैन ।

अन्तमा यो वर्ष अन्तर्राष्ट्रिय जैविक विविधता दिवस को नाराले भनेको जस्तै हाम्रा समाधानहरु प्रकृतिमा नै छन् खालि यसलाई उपयोग गर्न जान्नुपर्यो। यसको समुचित उपभोग र व्यबस्थापन गर्न सकिएन भने भोलिका सन्ततिले हामीलाई संहारकको रुपमा चित्रित गर्नेछन् ।

(लेखक त्रिभुवन विश्वविध्यालयका अनुसन्धानकर्ता हुन्)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position