कोरोना खोपको निर्माणमा प्रगतिबारे

भ्याक्सिन अर्थात् खोप कुनै विशेष रोगको बिरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति (antibodies) उत्पादन गर्नको लागि दिने गरिन्छ। उदाहरणका लागि नेपालमा बच्चा जन्मने वित्तिकै दिइने बिसिजीको खोपले क्षयरोगवाट बचाउछ भने बच्चा ९ महिनाको हुँदा दिइने दादुरा (रुबेल्लाको खोपले दादुरा र रुबेल्ला (जर्मन दादुरा) बाट बचाउने गर्छ।

एडवार्ड जेन्नर नामका वैज्ञानिकले १८ औं शताव्दीको अन्ततिर विफरको खोप निर्माण गरेसँगै अन्य विभिन्न रोगका विरुद्ध खोप निर्माणको प्रक्रिया सुरु भएको मानिन्छ। कुनै समयमा विफरले विश्वमा एकै वर्षमा लाखौं मान्छेको ज्यान लिने गर्दथ्यो।

सन् १८१६ मा नेपालका तत्काीलन राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु पनि विफरवाट भएको मानिन्छ। खोपको उचित तथा निरन्तर प्रयोगले नै सन् १९८० मा विफरलाई विश्ववाटै उन्मुलन गर्न सफल भइयो। खोपको प्रयोगसँगै विश्वभर दादुरा, पोलियो, धनुस्टंकार, रेबिजजस्ता रोगहरुवाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको छ।

बेलायतको अक्सफोर्ड विश्वविध्यालयले निर्माण गरेको खोप पनि मान्छेमा गरिने दोस्रो तेस्रो चरणको परिक्षणमा प्रवेश गरेको बताइएको छ। पहिलो चरणको परिक्षणमा यो खोप सुरक्षित देखिएको थियो। यी सकारात्मक नतिजाहरुले २०२१ को सुरुवाततिर कोभिड१९ को खोप उपलव्ध हुन सक्ने सम्भावना जीवित राखेको छ।

कुनै खोप लगाएपछि हाम्रो शरीरमा सम्वन्धित रोग लगाउने भाइरस अथवा ब्याक्टेरियालाई चिन्न सक्ने कोषहरु (memory cells) को विकास हुन्छ । यस्ता कोषहरू लामो समयसम्म हाम्रो शरीरमा रहिरहन्छन् र हाम्रो शरीरको गस्ती (patrolling) गरिरहन्छन्। जव हामीलाई सम्वन्धित भाइरस अथवा ब्याक्टेरियाले संक्रमण गर्छ, त्यसबेला भ्याक्सिनले उत्पादन गरेका ती कोषहरू (memory cells) छिटो छिटो एकबाट दुई, दुईवाट चार, चारवाट आठ हुँदै गुणा हुन्छन् र तिनीहरुले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता अर्थात् एन्टीवडीको निर्माण गर्छन्।

यी एन्टीवडीहरुले सम्वन्धित भाइरस अथवा ब्याक्टेरियाहरुलाई वृद्धि हुन दिँदैनन् र हामी सम्वन्धित रोगवाट बच्दछौँ। उदाहरणका लागि कुनै बच्चालाई जन्मनेवित्तिकै बिसिजिको खोप दिएको छ भने उसको शरीरमा क्षयरोगको जीवाणुलाई चिन्नसक्ने र प्रतिकार गर्न सक्ने कोषहरुको निर्माण भएको हुन्छ।

यस्ता कोषहरू उसको शरीरमा पछिसम्म पनि रहिरहन्छन् र क्षयरोग लगाउने जीवाणुहरुको गस्ती गरिरहेका हुन्छन्। क्षयरोगका जीवाणु सम्पर्कमा आएको खण्डमा यी कोषहरुले एन्टीवडी निर्माण गरेर ती जीवाणुहरुलाई निस्क्रिय पारिदिन्छन्। जसले गर्दा उक्त व्यक्तिमा क्षयरोग लाग्दैन।

अहिले फैलिरहेको कोभिड–१९ को रोगको विरुद्ध पनि खोप निर्माणको प्रयास निरन्तर जारी छ। कोभिड–१९ रोग लगाउने सार्स कोरोना भाइरस २ को विरुद्ध काम गर्ने खोप बनाउन वैज्ञानिकहरुले विभिन्न रणनीतिहरु प्रयोग गरिरहेका छन्। कुनै समुहले कोभिड–१९ लगाउने कोरोना भाइरसलाई नै निस्क्रिय पारेर खोपको रुपमा प्रयोग गर्ने प्रयास गरेका छन् भने अरु वैज्ञानिकहरुले कोरोना भाइरसको कुनै सानो भागलाई खोपको रुपमा प्रयोग गरेका छन्।

उदाहरणका लागि चीनस्थित सिनोभ्याक बायोटेक (Sinovac Biotec) ले परिक्षण गरिरहेको भ्याक्सिन कोरोना भाइरसलाई नै निस्क्रिय पारेर बनाइएको (inactivated) हो भने अमेरिकाको मोडर्ना कम्पनिले बनाएको भ्याक्सिनमा कोरोना भाइरसको एउटा सानो भागको प्रयोग गरिएको छ।

विश्वभर अहिले कोभिड–१९ को विरुद्ध १३० भन्दा बढी खोपहरु परिक्षणको क्रममा छन्। यिनीहरुमध्ये धेरै खोपहरु प्रयोगशालामा तथा जनावरमा गरिने परिक्षणको चरणमा छन् भने १० भन्दा धेरै खोपहरु मान्छेमा परिक्षण भैरहेको छ। भर्खरै अमेरिकाको मोडर्ना कम्पनीले आफ्नो भ्याक्सिन परिक्षणको प्रारम्भिक नतिजा प्रकाशन गरेको छ। मोडर्नाले जनावरमा गरेको खोप तथा संक्रमण (vaccinatin and infection) अध्ययन तथा मान्छेमा गरेको पहिलो चरणको (Phase I clinical trial) अनुसन्धानको प्रारम्भिक नतिजा प्रकासन गरेको हो।

जनावरमा गरिएको अनुसन्धानले यो खोपले भाइरसको संक्रमणबाट बचाउन सक्ने देखाएको छ। त्यस्तै मान्छेमा गरिएको पहिलो चरणको परिक्षणमा यो खोपले कोभिड–१९ विरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति (antibodies) उत्पादन गर्ने देखाएको छ। त्यसैगरी यो खोपले मान्छेमा कुनै गम्भीर साइड इफेक्ट नगर्ने पनि देखाएको छ।

बेलायतको अक्सफोर्ड विश्वविध्यालयले निर्माण गरेको खोप पनि मान्छेमा गरिने दोस्रो र तेस्रो चरणको परिक्षणमा प्रवेश गरेको बताइएको छ। पहिलो चरणको परिक्षणमा यो खोप सुरक्षित देखिएको थियो। यी सकारात्मक नतिजाहरुले २०२१ को सुरुवाततिर कोभिड–१९ को खोप उपलव्ध हुन सक्ने सम्भावना जीवित राखेको छ।

(डा.ढकाल इन्फ्लुएन्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताको क्षेत्रमा कार्यरत छन् )

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो