लघुकथा : याचना
दिनांक : २०७१-०९-०२
“हेड सर घण्टी बजाऊँ” कार्यालय सहयोगी सूर्यले हेड सरलाई सोध्यो। “हुन्छ , दश बजि सक्यो बजाऊ न त।” हेड सरले कार्यालय सहयोगीलाई घण्टी बजाउने अनुमति दिए। हिजो जस्तै आज पनि दश बज्यो।
सरस्वती मा.वि. साङपाङ भोजपुरको घण्टी बज्यो विद्यार्थीहरु प्रे लाइनमा गए। विद्यार्थीको लाइन हाजिरी कक्षा शिक्षकद्वारा सम्पन्न भयो। विद्यार्थीको कमाण्डरले कसरत सु-सम्पन्न गरि प्रार्थना गरायो।
प्र.अ.ले एसएलसी दिने विद्यार्थीको सिम्बोल नं. र तेस्रो किस्ताको सूचना प्रदान गर्दै पहिलो घण्टीको १०-१५ मिनेट आ–आफ्नो कक्षा कोठा र विद्यालय हाता सरसफाइ गर्न विद्यार्थीलाई निर्देश गरे।
विद्यार्थीहरु कक्षा कोठामा पंक्तिवद्ध गए र आ-आफ्नो कक्षा कोठा र बाह्य वातावरण सरसफाइमा निस्किए। शिक्षक, कर्मचारी आफ्नो हाजिरी जनाइ रहेका थिए। ठीक त्यही बेला एक जना स्थानीय राजनैतिक कार्य कर्ता अफिसको ढोकामा देखा परे।
र झोक्किँदै भने, “किन विद्यार्थी बाहिर? कुनै कक्षामा पढाइ छैन। नपढाउने भए बिदा गरे हुन्छ। विद्यालय बन्द गरे हुन्छ।”
प्र.अ.ले जवाफ दिए, “१०-१५ मिनेट सरसफाइ गर्न लगाएको हो। सरसफाइ गर्न जिम्मेवारी विद्यार्थीको पनि हो। सरसफाइ पश्चात नियमित क्लासहरु हुने छन्।” ती स्थानीय नेताको प्र.अ.को भनाइप्रति कुनै टिप्पणी आएन। उनी फतफताउँदै हिँडे।
प्र.अ. ले सोच्यो, हामी कसका निमित्त काम गरि रहेका छौं? शैक्षिक गुणस्तर खस्कियो भनेर किन चिन्ता गरि रहेका छौं? अतिरिक्त कक्षा कसका लागि चलाई राखेका छौं? निजी स्रोतमा शिक्षक किन व्यवस्थापन गरि रहेका छौं? आर्थिक संकटको सामना गर्दै आर्थिक सहयोगका निमित्त किन हार गुहार गरि रहेका छौं? के यस्तै अपजस र टोकसो खप्न?
कुनै औपचारिकता र सम्बोधन बिना विद्यार्थी किन बाहिर छन् भन्ने सही सूचना प्राप्त नगरी शिक्षकहरुको मनोवल गिर्ने गरी, निर्देश गर्ने यस्ता नेताहरुबाट शिक्षा क्षेत्रमा कस्तो परिर्वन होला?
प्र.अ.ले दिन भर चिन्तन गर्यो। अन्त्यमा उसले आफ्नो आत्म सम्मानमा ठेस पुगेको महसुस गरी राजीनामा दिने हो कि भन्ने सोच बनाई, ती नेताको मनोदशा र बौद्धिकताप्रति मनमनै खेद प्रकट गर्यो। र उनको मनोदशामा सुधार आओस भन्ने याचना समेत ग¥यो।
सुन्दरहरैंचा-६,दुलारी, मोरङ
No ads found for this position


Facebook Comment