कविता : सिम्मा साराङ हे !

सुरेश राई
२६ मंसिर २०८१ १२:१२
128
Shares

अरूहरू गए रमाइ-रमाइ
गाजलु आँखाका
आकाश फर्किएका
झ्याम्म बाक्ला परेलीहरूमा
‘झूलाझूली’ खेल्न

सिम्मा !
म आएँ तिमीसामु
लगभग बिनापरेलीका
तिम्रा चिम्सा आँखाहरू पछ्याउँदै
बास माग्न

अरूहरू गए खुशी-खुशी
झुम्का,लाली र टीकाहरूमा
तानिएर सोहोरिएर
सौन्दर्यपान गर्न

सिम्मा !
म आएँ लठ्ठिएर
शिलिचुङमा फुलिरहेको बुकी झैँ
स्वतन्त्र ,चोखो र पवित्र
तिम्रो अस्तित्वको दर्शन गर्न

साथीभाइ गए
चुपचाप चुपचाप
चन्द्रवदनको तिलस्मी जादूमा
खिचिएर बेहोसिएर
स्वर्गको अनुभूति लिन

सिम्मा !
म आएँ हुलबाट छुट्टिएर
आम्लाबुङ मग्मगाउने
तिम्रो सामान्य मध्यम कदमा मोहनिएर

जिन्दगीको घामपानी छल्दै
दु:खको दूधकोशी तरेर
श्रम बेच्न आएछौं सिम्मा
हामी फेरि यो परदेशको भूमिमा

परदेशकै भूमिमा
उधौली उभौली साकेला नाच्न
हतार हतार ड्यूटी सिध्याएर
किराँती भेषमा चिटिक्कै सजिएर
हतारकै रेल चढी
निस्कन्छौ तिमी थोङ्देमुनतिर
र उसैगरी बोलाउँछौ मलाई
‘आऊ है !’ भनेर

सिम्मा!
सधैं झैँ बिदा मिल्दैन मेरो उसैगरी
कम्पनी ब्यस्त भएर
अनि वाट्सएपमा लेखिपठाउँछु बाध्यता
माफी नि मागेर
‘सिम्मा मियान हे !’ भनेर
‘सिम्मा साराङ हे !’ भनेर

( थोङ्देमुन – नेपालीहरूको बाक्लो भेटघाट हुने दक्षिण कोरियाको एक ठाउँ, मियान हे – माफ गर , साराङ हे – माया गर्छु ,
आम्लाबुङ – सुनाखरी फूल )


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *