कविता : सास भएका लाशहरु
सास भएका लाशसँग सँगै हिँड्दा
आफू पनि लाश भए जस्तो लाग्छ
यी लाशहरुको आश गर्दा गर्दै
हाम्रो पनि सास गई सकेछ जस्तो लाग्छ
गाँस, बास र कपासको खोजीमा
सास भएर पनि लाश बनेछौं
विश्वासै विश्वासमा सिन्दुर पोते लुटिएकी अबला सरि लुटिएछौं
केही उपाए नापाइ देश छाड्न बाध्य बनाइएछौं
उनीहरु जस्तै सास फेर्ने लाश भइ सकेछौं
मुर्दै मुर्दाको भर पर्दा मसनघाटका मुर्कुट्टाहरुको शहर भएछ
मुर्दाको त कुरै छाडौं देशको अस्तित्वनै गएछ
बल्ल बुझे सतिले दिएको श्रापनै यही रहेछ
सास फेर्ने लाशको भर पर्दा देश त मसनघाटनै भएछ
सास भएका लाशहरुको विश्वासमा पर्दा देशलाई कंगाल बनाए
सक्षम नेपालीलाई धपाइ सिमाना कटाए
अझ बिदेशिएका नेपालीलाई आफ्नो देश र जनताप्रति घृणा गर्न बाध्य बनाए
आफूले भने अर्काको बालीमा भेडा बाख्रा चराए
हामीलाई भने न गरी खानु न मरी जानु पर्ने ठाउँमा पुर्याए
सास भएको लाश भएर बाँच्नुको के अर्थ होला र
फेरेको सासले मात्रै मरी सकेको आशलाई बचाउला र
अगाडि बड्छौ भने सास मात्रै भएको लाशलाई आजै जलाई देउ
भोका भएका छोरा छोरीलाई सास फेर्ने लाशहरुले देखेनन्
कति त परिबार बिहीन भएको तिमीले पत्तै पाएनौ
देशै भरि रित्ता घर र बाँझा खेत बारी तिमीले देखेनौ
बिदेशी भूमिमा पाएको दु:ख, पीडाका चित्कार र मागेका हार गुहार
त्यसै खेर गए तर तिमीले न सुन्याै न बुझ्न सकेउ
आशा बोकी देश छाड्नेहरु बन्द बाकसमा फर्किँदा तिम्रो नजर परेन
हे-जनताको सेवा गर्ने बाचा गरेर संसद्को पगरी भिरेकाहरु हो
त्यसैले तिमी सस फेर्ने लाश हौ
आँखा भएका सास फेर्ने अन्धा लाशहरु
कान भएका सास फेर्ने कानाहरु
खोपडी भएका सास फेर्ने बिबेक हीनाहरु
खुट्टा भएका सास फेर्ने गन्तब्यहीनहरु
धर्मका ज्ञान गुनका कुरा गर्ने तर जनताको सेवा नबुझ्नेहरु
राजनीतिलाई भ्रष्टचार गर्ने धन्दामा परिणत गर्दै सास फेर्ने लाशहरु
तुरुन्त छाडी देउ नत्र हिरिक हिरिक भएका नेपालीलाई मारीदेउ
धामी, झाँक्री, बैद्य, देवारी, डक्टर सबै लगाए
जब्बर भूतप्रेत, पिचाश र बोक्सीको शक्तिले छोएछ
जति गरे पनि बिरामीको चेतनै खुलेन
विद्वान, ज्ञानी र पण्डितले ज्ञान गुनको पाठ पढाए
यो त भालुलाई पुराण सुनाए जस्तो मात्रै भयो
पूर्व पश्चिम उत्तर दक्षिण धेरै ठाउँमा घुमाए
तर केही देख्दै देखेनन्
चेत र बिबेक खुल्नुको सट्टा कुलांघारी र राष्ट्रघाती भएर निस्किए
नेपालीलाई सास भएको आश नभएको लाश भएर बाँच्न सिकाए
No ads found for this position


Facebook Comment