लघुकथा : आवरण
सरले भ्रष्टाचार गर्न छाड्नु भयो, न दौरासुरूवाल र टोपी लगाउन छाड्नु भयो।
एक समय भ्रष्ट कर्मचारीको सूचीमा शीर्ष दश नाममा थियो-सरको नाम।
जोसुकैसँग पैसा लिने र जुनसुकै सवालमा पैसा लिने भनेर चिनिन्थ्यो-सरलाई। उहाँलाई चिन्ने अर्को आधार थियो-दौरासुरुवाल, कोट र शीरमा टोपी। औपचारिक-अनौपचारिक कुनै पनि समारोहमा सरलाई हरदम यही पहिरनमा भेटिन्थ्यो।
‘उद्योग संचालनको लाइसेन्स दिँदा पनि पैसा, आयात निर्यातको लाइसेन्स दिँदा पनि पैसा, टेण्डर स्वीकृत गर्न पनि पैसा, बजार अनुगमनमा पनि पैसा, भ्रष्टाचारको बारेमा छानबिन टुंग्याउन पनि पैसा, घोटाला माथिको अध्ययनलाई सामसुम पार्न पनि पैसा, कहाँ थुपार्छ होला यसले पैसा!’ सर जहाँ जानु हुन्थ्यो सरलाई यस्तै गाँइगुँइले पछ्याएको हुन्थ्यो।
सरलाई कालोबजार, लागुऔषधको बढ्दो प्रयोग, जीवजन्तुका तस्करी आदिसंग जोडेर पनि मानिसहरू चर्चा गर्थे।
नेपाली समाजलाई विविध प्रकारले चोट पुर्याए पनि र नेपालको अर्थतन्त्रलाई गम्भीर घाटा पुर्याएर पनि सरले दौरासुरुवाल र टोपी छाड्नु भएन।
सर अब प्रत्यक्षतः शक्तिमा हुनुहुन्न तर अब पनि सरले दौरासुरुवाल र टोपी छाड्नु भएको छैन। सरलाई भ्रष्ट भनेर चिन्ने व्यक्तिहरू कहाँ छुटे, थाहा भएन। सरलाई खाँटी देशभक्त भन्ने मान्छेहरूले राम्रै मौका पाएका छन्।
No ads found for this position




Facebook Comment