उद्धार कुर्दा कुर्दै माल्दिभ्समा थप ४ नेपाली कोरोना संक्रमित

डिसी नेपाल
१२ जेठ २०७७ १२:११

माल्दिभ्स। मुलुक फर्किनका लागि उद्धारको प्रतिक्षामा रहेका थप ४ जना नेपालीहरु टापुहरुको मुलुक माल्दिभ्समा कोरोना संक्रमित भएका छन्। आइतबार थप भएका यी ४ जना संक्रमित नेपालीसहित हालसम्म माल्दिभ्समा संक्रमित नेपालीहरुको संख्या २२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित नेपालीहरु सामान्य अवस्थामै रहेको बताइएको छ।

माल्दिभ्समा आइतबार एकैदिनमा नयाँ ५८ जनामा कोरोना संक्रमण पुष्टि भएकोपछि यहाँ कोरोना संक्रमितहरुको जम्मा संख्या १३७१ पुगेको छ। यीमध्ये ४ जनाको ज्यान गएको छ। माल्दिभ्सको माले सानो एरिया भएको र धेरै मान्छेको चाप भएका कारणले गर्दा यसरी कोरोना संक्रमण बढेको र यसको मारमा बंगलादेशबाट आएका कामदारहरु बढी परेको बताइएको छ। हालसम्म ६८८ जना वंगलादेशी नागरिकहरु माल्दिभ्समा संक्रमित भएका छन्।

संक्रमणको दर यसरी नै बढेमा नेपालीहरु पनि थप संक्रमित हुन सक्ने आशंका गरिएको छ किनकि माले क्षेत्रमा नै धेरै नेपाली कामदारहरुको संख्या रहेको छ। नेपालीहरु बिगत २ महिनादेखि नै लकडाउन खुल्ला र घर जान पाइएला भन्ने पर्खामा बस्दै आएका छन्।

अहिले माल्दिभ्समा दिनानुदिन संक्रमितको संख्या बढेसगै उद्धारको पर्खामा बसेका नेपालीहरु निराश हुन थालेका छन्। भारतलगायत अरु थुप्रै देशले अफ्ना नागरिकलाई उद्धार गरी फर्काउँदै छ । यसैगरी महामारी बढ्दै गए माल्दिभ्समा खानेकुराको अभाव हुने अर्को भय पनि थप भएको छ। किनकि अहिलेदेखि नै यहां खाद्य सामग्री कम पाइन थालेको छ।

नेपाल सरकारले विभिन्न देशबाट उद्धार गर्ने तयारी गरेको समाचारले यहाँ पनि खुशीको तरंग त आएको छ तर माल्दिभ्समा भएका कामदार अहिलेको लिष्टमा नपरेको भन्ने खबर पनि आएकाले घर फर्किने आशामा रहेका नेपाली कामदारहरु सरकारसँग आक्रोशित पनि भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *