कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, १० हजारभन्दा बढी निको भए

डिसी नेपाल
१२ जेठ २०७७ १८:०५

काठमाडौँ ।। खाडीमुलुक कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । सोमबार १ हजार ७ सय ५१ नयाँ केस थपिएसँगै संक्रमितको संख्या ४५ हजार ४ सय ६५ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३१ सय ४१ जनाको परीक्षण गरिएको थियो ।

सोमबार मात्रै १ हजार १ सय ९३ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या १० हजार ३ सय ६३ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले ३५ हजार ७६ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका २ सय २ जनाको विशेष उपचार भैरहेको छ ।

कतारमा संक्रमितको संख्या उच्च रहेपनि मृत्युदर भने न्युन छ । हालसम्म कतारमा २६ जनाले मात्रै कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयले अहिलेसम्म १ लाख ९२ हजार ४ सय ८४ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।

केहीदिन अघि कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको थियो । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको थियो ।

गत मे १९ तारिख विभागले निकालेको उक्त तथ्याङ्कमा कुल संक्रमितमध्ये ६ हजार ९ सय ११ जना नेपाली रहेको बताइएको छ । कुलसंक्रमित मध्ये नेपाली समुदाय दोश्रो स्थानमा छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन । कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट मानिएको हो । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ ।

तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाजका अनुसार ठ्याक्कै भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् ।

कतारमा मृत्यु हुनेमा १ जना नेपाली नागरिक समेत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *