दैलेखका कोरोना संक्रमितमा विभेद

डिसी नेपाल
१२ जेठ २०७७ २०:१३

काठमाडौं । कोरोनाको संक्रमण कर्णाली प्रदेशमा पनि बढ्दो छ । भारतबाट आएका युवामा कोरोनाको संक्रमण देखिए लगतै आइतबार र सोमबार गरी ७ जना नयाँ कोरोनाका संक्रमितहरु भेटिएका छन् । उनीहरुलाई सदरमुकाम नजिक झुप्रेसालको विद्यालयकै भवनमा राखिएको छ ।

दैलेख आठबीस नगरपालिकाका विरामीलाई यसअघि सोही ठाउँमा बनाइएको आइसोलेसनमा राख्दा चौतर्फी विरोध भएको थियो । चौतर्फी विरोध थेक्न नसकेर उनलाई उद्दार गरी प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।

नयाँ ७ जना संक्रमितलाई हाल सोही विद्यालयमा राखिएको छ । उतिबेला गरिबी र जातियताको कारण विद्यालयमा राखियो भनेर सामाजिक सञ्जालमा लेख्ने दैलेखका जनप्रतिनिधि तथा पत्रकार र अन्य सबै चुपचाप छन्।

कोरोना संक्रमितको लागि राखिने ठाँउ र उनीलाई गरिने उपचारका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मापदण्ड तय गरेको छ । जिल्ला अस्पताल दैलेखका मेडिकल सुपरीटेन्डेण्ट डा. निराजन पन्तले यसअघि नै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै जिल्ला स्थित झुप्रेसालको विद्यालयमा आइसोलेसन बनाइएको डिसी नेपालसँग बताइ सकेका छन् ।

तर, प्रतिनिधि सभा सदस्य पार्वती विशुंके भने यो भनाइलाई मान्ने पक्षमा छैनन् । कर्णालीमा पहिलोपटक संक्रमित भेटिँदा प्रदेश सरकारले तोकेको कोरोना विषेश अस्पताल सुर्खेतमा नै राख्नु पर्ने बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत भेटेकी थिइन्।

नयाँ ७ जना अरु कोरोना संक्रमित दैलेखमा थपिए पछि डिसी नेपालसँग कुरा गर्दै उनले दैलेखका कोरोना संक्रमितसबैजनालाई सुर्खेत नै ल्याउनु पर्ने धारणा रहेको बताउछिन्। उनले भन्छिन्, ‘झुप्रेसालको विद्यालयमा बनाइएको आइसोलेसन कक्ष डब्लुएचओको मापदण्ड अनुसार छैन, दैलेखमा भएका कोराना संक्रमित सबैलाई प्रदेश अस्पताल नै ल्याइनु पर्छ भन्ने माग हो।’ तर, उनले यो समाचार तयार पार्दासम्म पहिलेको जस्तै सामाजिक सञ्जालमा कुनै पनि धारणा प्रस्तुत गरेकी छैनन्।

यस्तै, दैलेखका पूर्व सांसद विनोद शाहले पनि यसअघि झै सामाजिक सञ्जालमार्फत कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। यसअघि, सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘दैलेख जिल्लाको कोरोना विरामीलाई दैलेख सदरमुकाम स्थित सरस्वती माध्यमिक विद्यालयको आईसोलेशनमा राखिएको छ । विद्यालयमै राख्नुपर्ने थियो भने लक्ष्मी मावि सातालाबाट किन ल्याएको हो ? सम्बन्धित निकायबाट विरामीलाई सुविधायुक्त अस्पतालमा यथाशीघ्र उपचार हुने व्यवस्था गरियोस।’ हाल संक्रमित भएका दैलेखका नागरिक शाहका हैनन् र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *