मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

डिसी नेपाल
१३ जेठ २०७७ ७:१३

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गरेका छन् ।

सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्मोमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पिपिइ ३० थान, गमबुट २० थान र जनचेतनामूलक हातेपर्चा ५०० थान हस्तानान्तरण गरे ।

यसका साथै मुख्यमन्त्री राउतले सङ्क्रमितको खाना र खाजाका लागि रु २५ लाखको चेकसमेत हस्तान्तरण गरे ।

यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै सोको सञ्चालनका लागि रु ५० लाखसमेत उपलब्ध गराएको थियो।

उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको पहलमा कुनै कमी हुन नदिने प्रतिबद्धता प्रकट गरे ।

उनले प्रदेश सरकारले जनकपुर, वीरगञ्ज र राजविराजबाट कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान गरिसकेको र थप पिसिआर मेसिनका लागि पहल शुरु गरिएको जानकारी गराए ।

मुख्यमन्त्री राउतले यस प्रदेशमा भारतलगायत अन्य मुलुकबाट आउने नागरिकका लागि नेपाली सेनाले सञ्चालन गर्ने गरी वीरगञ्जमा ५०० श्ययाको होल्डिङ क्वारेन्टिन, बारा र सप्तरीमा ५००/५०० श्ययाको प्रादेशिक क्वारेन्टिन निर्माणको प्रक्रियासमेत शुरु भइसकेको जानकारी गराए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *