अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य गाउँ फर्किएकाहरु, गुहार माग्दै गाउँपालिका

तर्कबहादुर थापा
१३ जेठ २०७७ १२:०६

काठमाडौं । ठाटिकाँध गाउँपालिकामा भारतबाट फर्किएकाहरु अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य छन्। ठाटिकाँध गाउँपालिका ५ का ११ जना भारतबाट फर्किएपछि उनीहरुलाई अव्यवस्थित क्वारेन्टाइनमा राखिएको छ ।

चिउरीखेत स्थित पुरानो भवनमा उनीहरुलाई राखिएको वडा नं. ५ का अध्यक्ष पंख बहादुर शाहीले जानकारी दिए । ‘ट्वाइलेटको समस्या त छ।’ डिसी नेपालसँग कुरा गर्दै शाहीले भने, ‘म जाँदै छु। अपुग के छ हेर्दै छु।’

क्वारेन्टाइनमा बसेकाहरुले अव्यवस्थित भएको बताएका छन्। उनिहरुले भने, ‘हाम्रो लागि ट्वाइलेट छैन, पानी छैन, खानाको राम्रो व्यवस्था छैन।’ उनीहरुले यस्तो ठाउँमा बस्दा कोरोना भन्दा पनि अरु रोगलाग्ने डर भएको बताएका छन्। उनीहरुले भने, ‘कोरोनाको डर त छदै छ । तर, यस्तो ठाउँमा बस्दा अरु रोग पो लाग्छ कि भन्ने डर हामीलाई लागेको छ।’

यो एउटा उदाहरणमात्र हो । गाउँपालिका भरी करिव ५ सय बढी फर्किसकेका छन् भने ५ सय बढी अझै फर्किने तयारीमा छन्। नेपालमा कोरोना संक्रमणबाट जोगिन लकडाउन गरेको पनि ६३ दिन पुगेको छ । लकडाउन भएको २ महिना बढी हुँदा हालसम्म गाउँपालिकाले क्वारेन्टाइनको राम्रो व्यवस्था गर्न सकिरहेको छैन।

‘हामीले २ सय जनाको लागि तयारी गरेका थियौं।’ ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भने, ‘मान्छे दिन प्रतिदिन बढ्दै गएका छन्। चालु खर्च सकियो। हामीले प्रदेश सरकारले पठाएको रकम भन्दा दोब्बर रकम गाउँपालिकाबाट खर्च गरिसकेका छौं। अझै पनि झण्डै ५ सय बढी थपिदै छन्। बनाइएका क्वारेन्टाइनमा राख्ने अवस्था छैन। चौरमा राख्नु पर्छ होला।’

‘भारतबाट आएका सबैको पिसीआर परीक्षण गर्नु जरुरी छ।’ अध्यक्ष शाहीले भने, ‘किट पनि छैन। किटको लागि कुरा भएको छ। पहिलो चरणमा करिव पन्ध्र सय २ हजार किट भएर भारतबाट आएकाहरुको परीक्षण गर्न पाएको भए सजिलो हुने थियो।

‘कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो जिल्लामा मात्र परीक्षण किट पठाएका छन्।’ अध्यक्ष शाहीले गुनासो गर्दै भने, ‘हाम्रो ठाउँबाट कोही पनि मन्त्री नभएर होला प्रदेश सरकार र केन्द्र सरकारले हेरेकै छैनन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *