सेना परिचालनको अनुमतिको प्रतिक्षामा कर्णाली सरकार

डिसी नेपाल
१४ जेठ २०७७ १६:३०

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा सेना परिचालन गर्ने स्वीकृति नेपाल सरकारसँग मागेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नेपालसरकार सँग सेना परिचालनका लागि अनुमति माग्ने निर्णय गरेको हो ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका नागरिक फर्किने थालेका छन्। ठूलो सङ्ख्यामा फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको स्रोतले बताएको छ।

मन्त्रिपरिषदले गरेको निर्णयको ६ नं. बुँदामा भनिएको छ, ‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भइ भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको र यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा समेत खटिनु पर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेण्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकोले यस कार्यका लागि नेपाली सेना समेत परिचालन गर्नुपर्ने स्थितिमा सोको स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने।’

नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी काम गर्नुपर्ने र प्रदेशमा कोरोना फैलिन थालिइसकेकोले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको स्रोतले जनाएको छ।

हालसम्म भारतबाट आएका ३८ जनामा कोरोनाको पुष्टि भइसकेको छ । दैनिक भारतबाट औषत ३ हजार बढी कर्णालीका नागरिक नेपाल भित्रिने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *