प्रेमीसँग भागेकी १३ वर्षे रोमिनालाई प्रहरीले घर फर्कायो, पिताले निदाइरहेको बेला घाँटी छिनाए

डिसी नेपाल
१५ जेठ २०७७ १३:५९

काठमाडौं। इरानमा ‘अनर किलिङ’को नाममा १३ वर्षकी एक किशोरीको जघन्य तरिकाले हत्या गरिएको छ । ती किशोरी निदाइरहेका बेला उनका आफ्नै पिताले उनको घाँटी छिनाइदिएका छन् । रोमिना अशरफी नामकी ती किशोरीलाई ३५ वर्षका एक व्यक्तिसँग भागेको रिसमा उनका पिताले मारिदिएका हुन् । उत्तरी इरानको तलेश काउन्टीको होविगमा घटना भएको हो ।

जानकारीअनुसार रोकिनाका पिताले ती दुईको बिहे अस्वीकार गरेपछि उनीहरु भागेका थिए । तर, रोमिनाले पुलिसले पक्राउ गर्यो र उनलाई जबरजस्ती घर फर्काइयो । उनले अधिकारीहरुलाई आफ्नो ज्यानको खतरा भएको बताएकी थिइन् तर पनि उनलाई जबरजस्ती फर्काइयो । इरानी मिडिया गिल्खबरका अनुसार उनका पिताले उनलाई मारेपछि तत्कालै आफूले ‘अनर किलिङ’को रुपमा छोरीको हत्या गरेको स्वीकार गर्दै रक्ताम्य हतियारसहित आत्मसमर्पण गरेका थिए ।

उनका पितालाई पक्राउ गरिएको छ तर उनलाई दोषी ठहर गरिएमा सहुलियतसहितको सजाय हुने बीबीसीले लेखेको छ । इरानमा तथाकथित ‘अनर किलिङ’मा दोषी ठहर हुनेहरुलाई सजाय कम गरिन्छ । यहाँ ‘अनर किलिङ’को सजाय अधिकतम १० वर्ष जेल हुन्छ जबकि अन्य हत्यामा मृत्युदण्डसम्मको सजाय हुन्छ । इरानको स्थानीय मिडियाको रिपोर्टअनुसार रोमिनाका ३५ वर्षका प्रेमीको नाम बाहमान हो ।

स्थानीय मिडियासँग कुरा गर्दै तलेश काउन्टीका गभर्नरले भने ‘यो केसको विस्तृत विवरण कानुनी प्रक्रियापछि सार्वजनिक गरिनेछ ।’ यी कलिली किशोरीको हत्याले इरानमा तरंग ल्याएको छ । रोमिना अशरफी ह्याशट्यागसहित ५० हजारभन्दा धेरै ट्वीट गरिएका छन् । महिला तथा पारिवारिक मामिलाकी पूर्व उपाध्यक्ष तथा इरानको महिला अधिकार रक्षा समाजकी वर्तमान सचिव शाहिन्दोख्त मोलावर्दीले लेखेकी छिन् ‘रोमिना अनर किलिङकी न त पहिलो पीडित हुन् न त उनी अन्तिम पीडित नै हुनेछिन् ।’

पत्रकार मासिह अलिनेजादले यी किशोरी इरानको महिला विरोधी कानुनकी पीडित भएको बताएकी छिन् । उनले लेखेकी छिन् ‘एउटा ३५ वर्षको पुरुषले उनलाई आफूसँग भाग्नको लागि फसायो । त्यसपछि उनी पक्राउ परिन् । न्यायाधीशले उनलाई उनका पिताको हातमा सुम्पिने निर्णय गरे । उनका पिताले उनी निदाइरहेका बेला उनको टाउको छिनाइदिए । त्यहाँ उनलाई बचाउनको लागि कोही थिएनन् ।’

इरानमा अनर किलिङका घटना कति हुन्छन् भन्ने यकिन तथ्यांक छेन । तर, एक पुलिस अधिकारीले केही अगाडि बताएका थिए कि यहाँ हुने कूल हत्याहरुको पाँच भागको एक भाग अनर किलिङका घटनाहरु हुने गरेका छन् । अर्थात यहाँ हरेक ५ जनाको हत्या हुँदा एक जना अनर किलिङको रुपमा मारिएका हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *