जाजरकोट घटनामा हराएका पाँचौ व्यक्तिको शव भेटियो

डिसी नेपाल
१५ जेठ २०७७ १५:४७

काठमाडौं। रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट भेरी नदीमा परी हराइरहेका मध्ये आज दिउँसो ३ बजे एक जनाको शव फेला परेको छ। जाजरकोट छेडागाड नपा ५ कालेभिरमा जाजरकोट भेरी नगरपालिका ४ बस्ने बर्ष १९ को सन्जु बिकको शव स्थानीय र संयुक्त टोलिले फेला पारेको हो यो सँगै मृतकको संख्या ५ पुगेको हो।

भेरी नदीमा हराइरहेकाहरुको खोजी कार्यका लागि डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको १८ जनाको टोली परिचालित भएको थियो। सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार भेरी नदीमा हराइरहेकाको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको जाजरकोट स्थित आश्रीत गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल न.४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी सहित १८ जनाको टोली परिचालित भएको थियो।

सो घटनामा युवतीसहित उनका बुबाआमा, वडाध्यक्ष डम्बरबहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग बिहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १९ जनालाई जेठ १० गते राति गाउँलेले कुटपिट गर्दै लखेटेका थिए। सोही क्रममा मृत्यु भएका पाँच जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *