अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले सबै खर्च आफैंले व्यहोर्नुपर्ने

डिसी नेपाल
१६ जेठ २०७७ १४:४९

काठमाडौँ । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने क्यानवेरास्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार दूतावासले एक सूचना निकाल्दै कोरोनाका कारण तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा स्वदेश फकाउने तयारी गरिएको जनाउदै आफ्नो विवरण बुझाउन अनुरोध गरेको छ ।

दूतावासकाअनुसार यसरी स्वदेश फर्कन चाहाने नेपालीले हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यस्तै स्वदेश फर्कनुअघि अनिवार्य रुपमा आफूमा कोरोनाको संक्रमण नभएको पीसीआर टेष्टको रिपोर्ट दूतावासमा बुझाउनुपर्नेछ ।

यसरी तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका नेपालीले राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको छ । विवरण २ जुन सम्ममा राजदूतावासमा उपलब्ध गराउन भनिएकाे छ।

यसरी फर्कनेहरुले अनिवार्य रूपमा १४ दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी स्वदेश फर्कने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ । प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्ने समेत दूतावासले जनाएको छ ।

दूतावासका अनुसार त्रिभुवन विमानस्थलमा ओर्लिएका प्रत्येक यात्रुलाई चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगरे आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *