विदेशमा अलपत्र नेपालीलाई ल्याउने प्रक्रिया १० दिनपछि सुरु हुने, दैनिक ३५ सयसम्म फर्काइने

डिसी नेपाल
१६ जेठ २०७७ २०:५१

काठमाडौँ । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले १० दिनपछि स्वदेश ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ । शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले भारतबाहेक तेस्रो मुलुकमा अफ्ठेरोमा परेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले बताए ।

‘संघको अथक प्रयास तथा नेपाल सरकारसँग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात शुक्रबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले साता वा दश दिनपछिदेखि स्वदेश ल्याउन सुरु गर्ने निणर्य गरेको छ,’ उनले भने, ‘दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको छ।’

विदेशमा रहेर स्वदेश फर्किन चाहनेहरुको सूचि परराष्ट्र मन्त्रालयले बढीमा १० दिनमा तयार गर्ने उनले बताए।

उनका अनुसार नेपालीहरु फर्काउन नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाइनेछ । यसरी स्वदेश फर्कन चाहाने नेपालीले हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । उनीहरुले आफ्नो क्षमता अनुसार होटल छान्न पाउनेछन् ।

अध्यक्ष पन्तले विदेशमा रहेका नेपालीलाई अझै केहीदिन धैर्य गर्न अनुरोध गर्दै नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

प्राथमिकतामा को को ?

यसअघि नै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रस्तुत गरेको खाकामा पहिलो प्राथमिकतामा गर्भवति महिला रहेका छन् । विदेशमा रहेर गर्भवती भएका र नेपालमा सुत्केरीको लागि आउन चाहाने महिलालाई सबैभन्दा पहिला नेपाल ल्याउने तयारी सरकारले गरेको छ ।

एक  मन्त्रीका अनुसार भारतबाहेक तेस्रो मुलुकमा अफ्ठेरोमा परेका मध्ये पहिलो चरणमा २५ हजारलाई तत्काल उद्दार गर्ने निर्णय सरकाले गरेको हो ।

ती मन्त्रीले डिसी नेपालसँग भने, ‘हामीले अहिले ४ किसिमका अत्याधिक अफ्ठेरोमा परेका नागरिकको उद्दार गर्ने गरी बनाएको खाकामा छलफल गरेका छौं, जसमा पहिलो प्राथमिकतामा गर्भवती महिला रहेका छन्।’

सरकारले गरेको तयारीको दोस्रो नम्बरमा उपचारको शिलशिलामा विदेशमा गएका नागरिक रहेका छन् । उनले भने, ‘कोरोनाको संत्रास पहिले उपचारको शिलशिलामा जो विदेशिनु भएको थियो, उहाँहरुलाई नेपाल ल्याउने तयारी गरेका छौं।’

सरकारले तयारी गरेको तेस्रो नम्बरमा नेपालमा आफन्त गुमाएर विदेशबाट अन्तिम दाहसंस्कार र त्यसपछिको कार्यका लागि आउन चाहने नागरिक रहेको ती मन्त्रीले बताए ।

यस्तै, विभिन्न देशको जेलमा रहेका र सजाए भोगिरहेकाहरु, जसलाई संम्बधित देशले आममाफी दिएको छ उनीहरु सरकारले गरेको तयारीको चौथौ नम्बरमा परेका छन्।

सम्बन्धित देशले निश्चित समयका लागि उनीहरुलाई आममाफी दिने भएकाले सो समय भित्र नेपाल ल्याउने व्यवस्था गर्नु पर्ने परराष्ट्रमन्त्रीले पेस गरेकोे प्रस्तावमा रहेको ती मन्त्रीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *