प्रतिदिन कोरोना संक्रमण कतारमा अहिलेसम्मकै उच्च, संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै

डिसी नेपाल
१७ जेठ २०७७ १७:३८

काठमाडौँ । खाडीमुलुक कतारमा कोरोना भाइरस संक्रमणमा वृद्धि देखिएको छ। शनिबार मात्रै कतारमा २ हजार ३ सय ५५ नयाँ संक्रमण पुष्टि भएको छ।

यो संख्या कतारमा एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९१ जनामा कोरोना परीक्षण गर्दा २ हजार ३ सय ५५ जना नयाँ संक्रमित फेला परेका हुन्।

शनिबार कतारमा थप ५ हजार २ सय ३५ जना कोरोना संक्रमित बिरामीले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या २५ हजार ८ सय ३९ पुगेको छ ।

हालसम्म कतारमा ५५ हजार २ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने न्युन छ । अहिलेसम्म ३६ जना संक्रमितको मात्रै ज्यान गएको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले २९ हजार ३ सय ८७ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका २ सय १७ जनाको विशेष उपचार भैरहेको छ ।

मन्त्रालयले अहिलेसम्म २ लाख १७ हजार ९ सय ८८ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।

केहीदिन अघि कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको थियो । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको थियो ।

कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट मानिएको हो । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ ।

तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार ठ्याक्कै भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् ।

कतारमा कोरोनाका कारण मृत्यु हुनेमा १ जना नेपाली नागरिक समेत रहेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *