प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना हुने

डिसी नेपाल
१९ जेठ २०७७ ९:३३

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने भएको छ ।

प्रदेश सरकार मातहत वा बाहेक प्रदेशभित्र हुने विकास निर्माणको कार्यलाई व्यवस्थित गर्न विकास कम्पनी स्थापना गर्न लागिएको जनाइएको छ।

विकास निर्माणमा आवश्यक पर्ने गुणस्तरीय निर्माण सामग्री छनोट तथा आवश्यकतानुसार उत्पादनसमेत गर्न, निर्माणलाई दिगो र वातावरणमैत्री बनाउन, स्तरीय निर्माण सामग्री उत्पादन गरी बिक्री वितरण गर्नलगायत विकास निर्माणसँग सम्बन्धित कामका लागि प्रदेश पूर्वाधार कम्पनीको स्थापना गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेशमा हुने विकास निर्माणलाई चुस्त बनाउन विकास कम्पनी स्थापना गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल बताउँछन् ।

विसं २००७ यता राज्यमा भएका ठूला तीन क्रान्तिले नेपाललाई समाजवादोन्मुख राज्य व्यवस्थातर्फ उन्मुख गराएको तथा संविधानसभामार्फत जारी नेपालको नयाँ संविधानले राज्य, सहकारी र निजी क्षेत्रसहितको तीन खम्बे नीतिसहितको मिश्रित अर्थव्यवस्थाको परिकल्पना गरेकाले सोही परिकल्पनालाई मूर्तरूप दिन विकास कम्पनी स्थापना गर्न लागिएको मन्त्री फुयाँलको भनाइ छ।

मन्त्री फुयाँलले विकास कम्पनी निर्माणका लागि कानूनसमेत बनिसकेको जानकारी दिए। “हामी निजी क्षेत्रहरूलाई पनि परिचालित गर्नेछौँ, सहकारी र राज्यलाई पनि परिचालित गर्ने छौँ”, उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *