सुध्रिएन भारतीय मिडिया, उल्टै नेपालमाथि आरोप लगाउँदै लेख्यो – ‘नेपाल अझै सुध्रिएन’

डिसी नेपाल
१९ जेठ २०७७ १०:०५

काठमाडौं। नेपालले सुगौली सन्धिअनुसार महाकाली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूभाग भएको दावीसहित ती क्षेत्रलाई नेपालभित्र समेटिएको संशोधित नक्सा जारी गर्यो । यो नक्सालाई आधिकारिकता दिनको लागि हिजो प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पनि पेश भइसकेको छ ।

नेपालले नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाहरु नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेका थिए । भारतीय मिडियाहरुले नेपालविरुद्ध तुच्छ किसिमका शब्दको प्रयोग गर्नुका साथै तथ्यहरु बङग्याएर समेत प्रस्तुत गरिरहेका थिए । यतिमात्र होइन केही ‘अल्पज्ञानी’ नेताहरुलाई ल्याएर टक शो समेत संचालन गरे जसमा ती नेताहरु र स्वयं टेलिभिजन प्रस्तोताहरुले समेत नेपालविरुद्ध ‘विषबमन’ मात्र गरे ।

पछिल्ला केही दिनमा यो क्रम केही कम भएको थियो । भारतीय मिडियामा यसप्रकारका सामग्रीहरु आउन कम हुँदै गएको थियो । यसप्रकारका सामग्रीहरुलाई मिडियामा प्रस्तुत हुनबाट भारत सरकार स्वयंले सेन्सर गरेका दावीहरु पनि आएका थिए । यद्यपि भारतीय मिडियाको आक्रमण फेरि सुरु भएको छ । नेपालले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरेसँगै एक भारतीय मिडियाले नेपालमाथि ‘अझै नसुध्रिएको’ आरोप लगाएको छ ।

इण्डिया टुडे ग्रुपले संचालन गरिरहेको भारतीय टेलिभिजन आज तकको अनलाइनमा यसअघि संविधान संशोधनबाट पछि हटेको नेपाल अझै ‘नसुध्रिएर’ फेरि संविधान सशोधन अगाडि बढाएको लेखेको छ । जबकि वास्तविकता त्यो होइन र नेपाल कहिल्यै पनि संविधान संशोधनबाट पछि हटेको थिएन । नेपाली कांग्रेसले आधिकारिक रुपमा संविधान संशोधनको समर्थनबारे निर्णय गरिनसकेकोले यस विषयमा औपचारिक निर्णय गर्नको लागि केही समय मागेका कारण यो विषय केही दिन पर सारिएको मात्र थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *