दोहोरो आर्थिक मारमा उत्तर कोरिया, संकटका बेला यसरी जुटाउँदैछ पैसा

डिसी नेपाल
१९ जेठ २०७७ १३:५४

काठमाडौं। कोरोनाभाइरसका कारण पूरै विश्वको अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ । उत्तरु कोरिया पनि यसबाट ठूलो मारमा परेको छ । कोरोनाभाइरस मात्र नभइ आर्थिक प्रतिबन्धको पनि सामना गरिरहेको उत्तर कोरिया अहिले दोहोरो मारमा परेको छ । बेलायती अखबार फाइनान्सियल टाइम्सका अनुसार दोहोरो चुनौतीको सामना गरिरहेको उत्तर कोरियाको ठूलो जनसंख्या पहिलेदेखि नै गरिबीसँग जुधिरहेको छ ।

रिपोर्टका अनुसार उत्तर कोरिया १९९७ पछि अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गरिरहेको छ । किम जोंग उनले देशको अर्थतन्त्रमा पकड कायमै राख्न हरसम्भव कोसिस गरिरहेका छन् । उत्तर कोरियाका शासक किम जोंग उनले विदेशी मुद्रा हासिल गर्नको लागि देशमा रहेका धनी व्यक्तिहरुसँग पैसा मागिरहेका छन् । यसको लागि सरकारले रेयर बोन्ड बिक्री गरिरहेको छ । पछिल्ला दिनमा यसमा ठूलो वृद्धि देखिएको छ ।

रिपोर्टमा दावी गरिएअनुसार किमले रेयर बोन्ड स्किमको माध्यमले देशका ती धनी व्यक्तिहरुबाट देशको कूल बजेटको ६० प्रतिशत रकम उठाउन चाहन्छन् । उत्तर कोरियाले कोरोनाभाइरस संक्रमण फैलिएको विषयमा विश्वलाई कुनै जानकारी दिएको छैन । यद्यपि देशमा जारी कैयौं गतिविधिहरुका आधारमा उत्तर कोरियाले पनि कोरोनाभाइरसका कारण कैयौं प्रतिबन्ध लगाएको मानिएको छ ।

चीनसमेत अन्य देशहरुसँग अन्तर्राष्ट्रिय यात्रा बन्द भएपछि उत्तर कोरियाको अर्थतन्त्रलाई ठूलो नोक्सानी भएको छ । सिओलमा बस्ने उत्तर कोरियाबारे जानकार पीटर वार्ड भन्छन् ‘भाइरस र आर्थिक प्रतिबन्धका कारण उत्तर कोरिया भीषण आर्थिक समस्याको समाधान गरिरहेको छ । परमाणु परीक्षणका कारण अमेरिकाले उत्तर कोरियामाथि कैयौं किसिमका आर्थिक प्रतिबन्ध लगाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोंग उनको वार्तापछि पनि दुई देशबीच कुनै उल्लेख्य सम्झौता हुन सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *