सेना परिचालनका लागि मन्त्रिपरिषदको निर्णय राष्ट्रपति समक्ष लैजाँदै

डिसी नेपाल
१९ जेठ २०७७ १५:४३

काठमाडौं। सरकारले कोरोना भाइरस नियन्त्रण तथा क्वारेन्टाइनको व्यवस्थापनका लागि सेनालाई फिल्डमा उतार्ने निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रपति विद्या भण्डारी समक्ष लैजाने भएको छ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारलेविदेशबाट ल्याइने नागरिकलाई क्वारेन्टाइनमा राख्ने र त्यसको व्यवस्थापनका लागि सेना परिचालनको प्रस्ताव गर्ने निर्णय अनुमोदन गर्न राष्ट्रपति विद्या भण्डारी समक्ष लैजाने तयारी गरेको हो।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै थप टयकिंगको समेत जिम्मेवारी दिएको छ। विपद् व्यवस्थापनका लागि सरकारले राष्ट्रपतिको स्वीकृतिमा सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था रहेका कारण मन्त्रिपरिषदको निर्णयलाई राष्ट्रपति विद्या भण्डारी समक्ष पठाउन लागेको हो।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताका कारण गम्भीर सङ्कट उत्पन्न नेपाली सेनाको परिचालन गर्न आवश्यक देखिएमा परिषद्‌को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ ,’ संविधानमा उल्लेख गरिएको छ। सोही अनुसार सेनापरिचालन हुन लागेको हो।

हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै निशुल्क सीमकार्ड उपलब्ध गराउने निर्णय गर्दे सेनालाई कन्ट्याक ट्रेसिङको पनि जिम्मा दिएको हो।

भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई ‘होल्डिङ सेन्टर’मा राखेर स्वास्थ्य परीक्षण गर्ने र ७ प्रदेशका ७ लाइनमा विभाजन गरेर स्थायी ठेगानाअनुसार सरकारले उपलब्ध गराएको सवारीमा उनीहरु सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइन जानु पर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै छिमेकी मुलुकसँगको खुल्ला सीमाका कारण नागरिकहरु सजलै ओहोरदोहोर गर्न थालेपछि सरकारले थप कडाइ गर्ने भएको छ।

स्रोतकाअनुसार राष्ट्रपतिबाट अनुमोदन भएपछि सीमामा पनि सेना परिचालन हुनेछन्। हाल सीमामा सशस्त्र प्रहरीले सीमाको सुरक्षा गरिरहेको छ। गत जेठ १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *