अनुसन्धान लागि सिआइबीको टोली रुकुममा

डिसी नेपाल
१९ जेठ २०७७ १६:००

काठमाडौंं। रुकुम चौरजहारीमा पाँच जनाको ज्यान जाने गरी भएको अकल्पनीय घट्नाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोली खटिएको छ। पाँच जनाको ज्यान गएको र एक जना बेपत्ता भएको पश्चिम रुकुमको चौरजहारी घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन अनुसार सिआइबीको टोली खटिएको हो।

डिएसपीको कमाण्डमा अनुसन्धान टोली खटाइएको छ। तर सिआइबीले अनुसन्धानमा गएको टोलीको विवरण भने गोप्य राखेको छ। सिआइबीका प्रमुख डिआइजी सहकुलबहादुर थापाले प्राविधिक सहयोगका लागि सिआइबीको टोली खटिएको बताए। केही दिनअघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले सिआइबीको टोली पठाउने भन्दै गृहमन्त्रालयमा पुगेका सांसदहरुलाई आश्वस्थ पारेका थिए।

अहिले स्थानीय प्रहरीका साथै प्रदेश प्रहरीको टोली र गृह मन्त्रालयले बनाएको सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको उच्चस्तरीय समितिले समेत घटनास्थल पुगेर काम थालिसकेको छ। समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सह(अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल छन्।

आइतबार नै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत काठमाडौंबाट छानबिनका लागि घटनास्थलतर्फ गएको छ। सिआइबीले स्थानीय प्रहरीलाई टेक्किनल सपोर्ट गर्नुका साथै अनुसन्धानमा सहयोग पुर्‍याउने छ। देशभरका जघन्य प्रकृतिका अपराधको घटनामा सिआइबी परिचालन हुँदै आएको छ। एसएसपी पोषराज पोखरेलको टोली पनि अनुसन्धानका लागि खटिएको छ।

जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच भएको प्रेम सम्बन्धका कारण सो विकसहित पाँच जनाको शव भेरी नदिमा फेला परेको थियो भने एक जना हराइरहेका छन्।

तल्लो जातको केटा र माथिल्लो जातको केटीबीचको प्रेम सम्बन्धले रुकुममा केटी लिन गएका नवराज विक, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक गरी पाँच जनाको कुटपीटबाट मृत्यु भएको तथा गोविन्द शाही अझै बेपत्ता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *