डोनाल्ड ट्रम्प लुकेको बंकर कस्तो छ ? जहाँ १९ वर्षपछि बल्ल अमेरिकी राष्ट्रपति गए

डिसी नेपाल
२० जेठ २०७७ १२:३८

काठमाडौं। १९ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिलाई देशकै सबैभन्दा सुरक्षित बंकरभित्र लिएर गइयो । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या भएपछि ह्वाइट हाउसअगाडि हिंस्रक प्रदर्शनकारीको भीड जम्मा भयो । जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसको बंकरमा लगिएको थियो । यो बंकरमा यसअघि सन् २००१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश गएका थिए । बुशपछि २ कार्यकाल राष्ट्रपति रहेका बाराक ओबामालाई यो बंकरभित्र जाने आवश्यकता नै परेन ।

यो बंकरलाई प्रेसिडेन्सियल इमरजेन्सी अपरेशन सेन्टर (पीइओसी) भनिन्छ । यहाँ परमाणु आक्रमणले पनि असर गर्दैन । पीइओसी बंकर कैयौं सुरुङहरुसँग पनि जोडिएको छ । यो बंकर ह्वाइट हाउसबाट पाँच तल्ला तल जमिनभित्र बनाइएको छ । यहाँका ढोकाहरु अत्याधुनिक प्रविधिबाट खुल्ने र बन्द हुने गर्छन् । यी ढोकाहरु खोल्नको लागि बायोमेट्रिक कोड राख्नुपर्छ । पीइओसी बंकरमा दुई गोप्य लिफ्ट र १ आकस्मिक सिढी छन् जो आवतजावतको लागि प्रयोग गरिन्छन् ।

यो बंकरभित्र हरेक किसिमका सुविधाहरु उपलब्ध छन् । खानपिनका साथै विश्वभर सम्पर्क स्थापित गर्नको लागि संचार उपकरण र प्रविधि यहाँ व्यवस्था गरिएका छन् । डोनाल्ड ट्रम्पलाई ५० सिक्रेट सर्भिस एजेन्टले बंकरमा लिएर गएका थिए । यो ह्वाइट हाउसको पूर्वी विंगको ठिक तल बनाएको बताइन्छ तर यसको अवस्थितिको सही अनुमान कसैलाई छैन । यो बंकर दोस्रो विश्वयुद्धका बेला तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेंकलिन डी रुजवेल्टले बनाएका थिए ।

२००१ को सेप्टेम्बर ११ मा जब अमेरिकामा ट्वीन टावर नै ढलाउने गरी आतंकवादी आक्रमण भएको थियो त्यतिबेला तत्कालीन राष्ट्रपनि जर्ज डब्लु बुश, उपराष्ट्रपति डिक चेनी र राष्ट्रिय सुरक्षा सल्लाहकार कोन्डेलिजा राइस पीइओसीमा गएका थिए । पूरै समय कोंडोलिजा राइस र डिक चेनीले फोनमा लगातार सुरक्षा सम्बन्धी जानकारी लिइरहेका थिए । सबै चिन्तित देखिएका थिए । बीच बीचमा राष्ट्रपति जर्ज डब्लु बुशसँग सूचना शेयर गर्थे र उनीबाट निर्देशन लिन्थे ।

तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशकी पत्नी लारा बुशका अनुसार आक्रमणको दिन उनको पूरा परिवार यही बंकरमा थियो । उनले चारैतिर केवल सर्पले सुसाएको जस्तो आवाज सुनेकी थिइन् किनकि स्टिलको ढोकाबाट जो थोरै हावा पास हुन्थ्यो त्यसबाट यस्तो आवाज आउँथ्यो । लाराका अनुसार यो निकै पुरानो ठाउँ हो । कैयौं ठाउँमा पाइप देखिएका थिए । पछि भने यो बंकरको आधुनिकी करण गरिएको छ । राष्ट्रपति बाराक ओबामाले यसको आधुनिकीकरण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *