कोरोना संक्रमण :  विश्वभर ६ सय नर्सको मृत्यु, दुई लाख भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

डिसी नेपाल
२२ जेठ २०७७ ७:५९

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख ३१ हजार ६२१ पुगेको छ। यो क्रममा ३१ लाख दश हजार ६१९ जना उपचारपछि निको भएका छन्।

विश्वभर कोरोना भाइरसबाट हालसम्म ३ लाख ८५ हजार ३९० जनाको मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका अनुसार युरोपमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहोनम गेब्रेसियोसिस पछिल्लो समय मध्य र दक्षिण अमेरिकाको अवस्था चिन्ताजनक भएको बताएका छन्। ती मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो पाँच दिनमा ती मुलुकहरुमा एक लाख भन्दा धेरै संक्रमित देखिएका छन्। यसैबीच कोरोना भाइसरको उपचारका लागि हाइड्रक्सिक्लोरोक्वीनको ट्रायल फेरि सुरु हुने बताइएको छ।

इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन) ले बुधबार जारी गरेको एक तथ्याकं अनुसार विश्वभरमा कोरोना भाइरसका कारण ६ सय नर्सको निधन भएको छ। साथै दुई लाख भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्। आईसीएनको रिपोर्ट केही देशको नेशनल नर्सिङ एसोसिएशनको आधिकारिक तथ्यांकमा आधारित रहेको छ।

लण्डनको सडक छेउमा बनाइएको पर्खालमा नर्सको तस्वीर बनाइएको छ, तस्वीरले कोरोना महामारीमा नर्सको योगदानलाई भुल्न नसकिने संकेत गरेको छ।

उता इजराइलमा करिव ७ हजार विद्यार्थी र शिक्षकलाई क्वारेन्टाइनमा पठाइएको छ। कोरोना भाइसरका संक्रमित बढ्दै गएपछि यो कदम उठाइएको इजराइलले जनाएको छ। यद्यपी स्कुल र मन्टेश्वरी कक्षा भने अहिले खुल्ला नै रहने बताइएको छ। केही दिन अगाडि जेरुशेलमनका स्कुलमा १३० जनाको कोरोना पोजेटिभ देखिएको थियो।

उता रुसमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा रुसमा ८ हजार ५ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने २४ घण्टामा १७८ जनाको मृत्यु भएको छ। रुसमा कुल संक्रमितको संख्या ४ लाख ३२ हजार भन्दा धेरै पुगेको छ। अमेरिका र ब्राजिलपछि रुस धेरै संक्रमित भएको देश बनेको छ। उता इटलीले युरोपेली मुलुकका नागरिकमाथिको यात्रा प्रतिबन्ध हटाएको छ। पर्यटन क्षेत्रलाई प्रोत्साहन दिनका लागि यो कदम उठाएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *