कोरोनाभाइरसको पहिलेभन्दा संक्रामक स्ट्रेन भारतमा भेटियो !

डिसी नेपाल
२२ जेठ २०७७ ११:३६

काठमाडौं। कोरोनाभाइरसको पहिलेभन्दा संक्रामक स्ट्रेन भारतमा भेटिएको वैज्ञानिकहरुले बताएका छन् । डेक्कन क्रोनिकलको समाचार अनुसार हैदराबादको सेन्टर फर सेल्युलर एण्ड मोलिक्युलर बायोलोजी (सीसीएमबी)का वैज्ञानिकहरुले पहिलेको भन्दा धेरै संक्रामक स्ट्रेन पत्ता लगाएका हुन् । वैज्ञानिकहरुले यो स्ट्रेन पहिले देखिएका भन्दा धेरै संक्रामक भएको तथा महाराष्ट्र, तमिलनाडु र दिल्लीमा ठूलो संख्यामा प्रसार र मृत्युको कारक भएको हुन सक्ने विश्वास गरेका छन् ।

‘हामीले भारतमा फैलिएको सार्स सीओभी २ को ताजा जीनोम प्रिप्रिन्ट प्राप्त गरेका छौं । यसको नतिजाले भाइरस संख्याको फरक क्लष्टर देखाउँछ । अहिलेसम्म क्यारेक्टराइज नगरिएको यो स्ट्रेन भारतमा फैलिएको छ जसलाई क्लेड एथ्रीआइ भनिन्छ’ सीसीएमबीले ट्वीट गर्दै लेखेको छ । सीसीएमबीले नै यो भिन्न क्लष्टरको नाम क्लेड एथ्रीआइ राखेको हो र अनुसन्धान संस्थाका अनुसार भारतका ४१ प्रतिशत जीनोम सिक्वेन्समा यो क्लष्टर भेटिएको छ ।

यो अध्ययन अहिले बायोआरजीभ जर्नलमा रिभ्यूको क्रममा छ । अध्ययनअनुसार क्लेड एथ्रीआइ अहिलेसम्म विश्वका अन्य कुनै ठाउँमा भेटिएको छेन । सीसीएमबीका वैज्ञानिकहरुका अनुसार यो भाइरस भारतमा आएर म्युटेट भएको हो किनकि उसले भारतमा फरक जेनेटिक मटेरियल पाएको थियो । अन्य देशहरुमा पाइएका कोरोनाभाइरस स्ट्रेनहरुलाई एटुए, एथ्री, बी र बीफोर नाम दिइएको छ । भारतमा भेटिएको क्लष्टरका ४ फरक फरक स्ट्रेन भेटिएका छन् जसमध्ये सी१३७३०टी सबैभन्दा संक्रामक भएको पाइएको छ ।

अध्ययनका अनुसार यो स्ट्रेन तमिलनाडु, तेलंगना, महाराष्ट्र र दिल्लीमा ठूलो मात्रामा पाइएको छ । बिहार, कर्नाटक, उत्तरु प्रदेश, पश्चिम बंगाल, गुजरात र मध्य प्रदेशमा भने यो स्ट्रेन न्यून पाइएको छ । वैज्ञानिकहरुले मार्च ११ मा तेलंगना र लगत्तै दिल्ली, महाराष्ट्र र अन्य राज्यहरुबाट नमूना संकलन गरेका थिए । त्यसको अध्ययन गर्दा भारतमा नयाँ क्लष्टर फेब्रुअरीमा उत्पन्न भएको र त्यसपछि म्युटेट हुँदै फैलिँदै गएको पाइएको छ । सीसीएमबीका निर्देशक राकेश मिश्राले यो स्ट्रेन सिंगापुर र फिलिपिन्समा भेटिएको स्ट्रेनसँग मिल्दोजुल्दो भएको बताउँदै यसबारे थप अध्ययन हुँदै जाँदा अन्य कुरा थाहा हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *