किमकी बहिनीले थर्काएपछि उत्तर कोरिया विरोधी गतिविधि रोक्न दक्षिण कोरिया तयार

डिसी नेपाल
२२ जेठ २०७७ १४:३१

काठमाडौं। उत्तर कोरियाले थर्काएपछि दक्षिण कोरिया पछि हटेको छ । अब दक्षिण कोरियाले कानुन बनाएरै आफ्नो देश र उत्तर कोरियाको सीमामा भइरहेका उत्तर कोरिया विरोधी गतिविधि रोक्ने भएको छ । बिहीबार दक्षिण कोरियाले उत्तर कोरिया विरोधी गतिविधि रोक्न कानुन बनाउने बताएको हो । दुई कोरियाको सीमा क्षेत्रमा अभियन्ताहरुले प्योङयाङविरोधी पर्चा उडाउन थालेपछि उत्तर कोरियाले दक्षिण कोरियालाई धम्की दिएको थियो ।

उत्तर कोरियाली शासक किम जोंग उनकी बहिनी किम यो जोंगले सीमाक्षेत्रमा भइरहेका विरोध रोक्न दक्षिण कोरिया असफल भएमा २०१८ मा गरिएको अन्तर कोरियाली सैन्य सम्झौतालाई अन्त्य गर्ने धम्की दिएकी थिइन् । दक्षिण कोरियाबाट सीमापारि बेलुनमा प्योङयाङविरोधी कुरा राखेर फाल्ने कार्यक्रम अभियन्ताहरूले लामो समयदेखि गर्दै आएका छन् ।

तर, उत्तर कोरियाले यसलाई आफ्नो सरकारमाथिको आक्रमणका रूपमा लिने गरेको छ । उत्तर कोरियाबाट भागेर आएका मानिस तथा अन्य अभियन्ताले हालैका हप्ताहरूमा उत्तरका नेता किम जोङको आणविक महत्वाकांक्षा र मानवअधिकारको खराब रेकर्डका विषयमा आलोचना गर्दै लेखेका पर्चाहरू बलूनमा राखेर उडाएका थिए ।

किमकी बहिनी यो जोङ पछिल्लो समय नेता किमपछि दोस्रो स्तरकी नेता हुन् । उनले दक्षिणसँगको सम्पर्क कार्यालय समेत स्थायी रुपमा बन्द गरिदिन सक्ने चेतावनी दिएकी थिइन् । यस्तै सीमा क्षेत्रमा पर्ने र दुई देशका लागि मेलमिलापको केन्द्र मानिने काएसोंग सहरको औद्योगिक पार्कलाई पनि बन्द गर्न सकिने संकेत गरेकी थिइन् ।

किमकी बहिनीले एक विज्ञप्ति जारी गर्दै दक्षिणलाई यस्तो चेतावनी दिएकी थिइन् । उत्तर कोरियाबाट लखेटिएका र थुप्रै अभियन्ताहरु पछिल्लो केही सातादेखि सिमानामा पर्ने गैरसैन्य क्षेत्रमा उत्तर कोरियाली नेता र शासनको विरोधमा बेलुन उडाउँदै आएका छन् । खासगरी उत्तर कोरियाली शासनको विरोध गर्ने अभियन्ताहरुले आणविक हतियारको विरोधमा यसरी बेलुन उडाउन थालेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *