पिंजडाको सुगा उड्यो, ‘मालिक’ले ८ वर्षकी बालिकालाई कुटेर मारे, बलात्कारको पनि आशंका

डिसी नेपाल
२२ जेठ २०७७ १६:०८

इस्लामाबाद। पाकिस्तानमा एउटा निकै दर्दनाक घटना भएको छ । यहाँ ८ वर्षकी बालिकाको हत्या गरिएको छ । घरमा काम गर्ने ८ वर्षकी ती बालिकाले आफ्ना ‘मालिक’को घरमा पालिएको सुगाको पिंजडा सफा गर्दै थिइन् । यस क्रममा पिंजडाको ढोका केही खुकुलो भयो । मौका पाएपछि सुगा पिंजडाबाट निस्केर उड्यो । यही रिसमा मालिकले ती बालिकाको हत्या गरेका हुन् ।

पाकिस्तानी अखबार डनका अनुसार सुगा उडेपछि मालिक यतिसम्म रिसाए कि उनले ८ वर्षकी बालिकालाई कुट्न थाले । उनको कुटायबाट बालिकाको मृत्यु भयो । पाकिस्तानमा यो घटना सार्वजनिक भएपछि त्यहाँका जनता निकै आक्रोशित भएका छन् । अब पाकिस्तानी नागरिकहरुले सामाजिक संजालमा यी बालिकाको लागि न्यायको माग गरिरहेका छन् ।

बालिकाले रावलपिंडीको एक घरमा घरेलु कामदारको रुपमा काम गर्थिन् । घटना आइतबारको हो । जहरा नामकी ती बालिकाले काम गर्ने परिवारले एउटा सुगा पालेका थिए । जहराले घरमा सरसफाइको काम गर्थिन् । आइतबार उनले सुगाको पिंजडा पनि सफा गर्दै थिइन् । यही क्रममा मौका पाएपछि सुगा उडेर भागेको थियो । सुगा उडेर भागेको थाहा पाएपछि उनका मालिकले जहरालाई लापरवाहीको आरोप लगाउँदै कुट्न सुरु गरेका थिए ।

जहरालाई गम्भीर अवस्थामा बेगम अख्तर रुखसाना मेमोरियल अस्पतालमा ल्याइएको थियो जहाँ उनको मृत्यु भयो । पुलिसले केस दर्ता गरेर आरोपी दम्पतीलाई पक्राउ गरेको छ । पुलिसले दर्ता गरेको रिपोर्टमा उल्लेख भएअनुसार बालिकाको अनुहार, हात, पिठ्युँ, कोखा र खुट्टामा चोट पाइएका थिए । बालिकाका जाँघमा पनि घाउ देखिएकोले उनीमाथि यौन दुष्कर्म भएको समेत आशंका गरिएको छ । पुलिसले नमूना फरेन्सिक जाँचको लागि पठाएको छ र यसको रिपोर्ट आउन बाँकी छ । बालिकाका आफन्तका अनुसार परिवारले बालिकालाई काममा राख्नुभन्दा पहिले उनलाई पढाउने बाचा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *