यसरी मोडियो व्यक्तिगत उपहारको स्वरुप

डिसी नेपाल
२४ जेठ २०७७ ११:०६

मेरा एकजना हितैषी साथीले मलाइ एउटा उपहारका लागि स–सम्मान प्रस्ताव गर्नुभयो। एक–दुई हजार डलरसम्मको उपहार टक्य्राउन चाहन्छु त्यसैले कृपया आफ्नो आवश्यकता अनुरुपको कम्प्युटर, मोबाइल फोन, घडी वा अन्य त्यस्तै कुनै पनि ब्रान्डेड समान छनौट गरी पठाउनुहोला साथै सामान पठाउने आफ्नो ठेगाना पनि लेखी पठाउनुहोला भनेर मलाइ फोन गरेरै भन्नुभयो।

उपहारको यो प्रस्ताव विनाकारण आएको थिएन। तर, म भने अलमलमै थिए। कुनै बेला मैले दिएको कुनै सल्लाहले धेरै फलिफाप भएको विश्वास गर्नुभएको रहेछ उहाँले! त्यसको श्रेय बारम्बार मलाइ दिइरहनुहुन्थ्यो। त्यसै बिषयमा कुरा हुँदा एकदिन जिस्किने क्रममा ‘त्यसो भए खोई त मलाइ उपहार’ भनेर प्वाक्क भनेको थिएँ मैले। बेलाबखत ख्याल ठट्टा गर्ने मेरो पुरानै बानी हो।

ख्याल ख्यालमै भनेको मेरो उक्त कुरा मलाइ निकै ठूलो गलपासो भएको थियो त्यसपछि। तर पनि ‘हुन्छ मलाइ के आवश्यक पर्छ, म खवर गरौला तपाईलाई’ भन्दै उहाँको त्यस सम्मानपूर्ण उपहारको प्रस्तावलाई मैले टार्न थालेको पनि धेरै भैसकेको थियो।

३–४ दिन पहिले अर्को एकजना साथीकहाँ खाना खानेगरी हामी बाउछोरा सँगै पुग्यौं। त्यहीँ साथीको घरमा खाना खाएर सबै जनाबीच गफ–गाफ चलिरहेको बेला कुरै कुरामा छोरालाई त्यो कुरा सुनाएँ, र सोधे ‘कम्प्युटर, मोबाइलजस्ता प्राविधिक कुराहरुको ज्ञान धेरै भएको मान्छे भएकोले यसमा तेरो सिफारीस केहीँ छ कि छोरा?’ उसले भन्यो, ‘यसमा मेरो सिफारिस केही पनि छैन बाबा।’

त्यसपछि त्यो प्रसँग त्यहीँ सकियो। तर कुरा चल्दै जाँदा अर्को एक प्रसँगमा मेरो साथीले एप्पलको घडी किन्न खोजेको र त्यस बिषयमा नयाँ मोडेलको घडी के कस्तो छ भनेर रीवाजसँग राय लिन खोज्यो। रीवाजले भन्यो, ‘मेरो एप्पल वाच चार वर्ष पुरानो हो, मैले सिरिज २ लगाइरहेको छु मज्जाले चलिरहेको छ, बजारमा अहिले सिरिज ५ आइसक्यो!

त्यसैले अहिले बजारमा आएको एप्पलको घडीमा सबै बिशेषताहरु छन, सस्तो पनि छ त्यसैले किने हुन्छ अंकल भनेर सुझाव दियो रीवाजले उसलाई। एकछिनको छलफलपछि त्यो कुरा पनि त्यहीं सकियो। हाम्रा गफ–गाफका प्रसंगहरु अन्य बिषयतिर मोडिए त्यसपछि। अनि रमाइलो मौसमको फाइदा उठाउँदै २–३ घण्टाजति हामीहरु हाइकिगंतिर पनि गयौं। त्यसपछि रीवाज कुन्नि के काम छ भनेर अलिक छिट्टै फर्कियो, म अलिक ढिलै फर्किए।

त्यसको दुई दिनपछि मेरो साथीले उपहारका बारेमा पुन मलाइ म्यासेज पठाउनु भयो ‘खोई के उपहार पठाइदिऊँ ? आफ्नो ठेगाना र के पठाइदिने हो त्यसको बारेमा छिट्टै लेखी पठाउनुहोला! ‘खासमा मलाइ कुनै कुराको खाँचो या भनौं रहर नै थिएन, तैपनि साथीको मन राख्नुपर्ने बाध्यतामा पनि थिए म।

अनि कता कता २–३ दिन पहिले रीवाजले ४ बर्ष पुरानो घडी लगाएको कुरा गरेको थियो, उसैलाई पो एउटा घडी मगाइदिनु पर्छ कि क्याहो भन्ने कुरा मनमा आयो। यद्यपि उसलाई घडीको खाँचो थिएन तर पनि सन्तानका प्रति त्यस किसिमको कमजोरी सम्भवत सबै बाउ–आमामा हुन्छ होला।

त्यसैले रीवाजलाई सोधें ‘तँलाई एउटा घडी मगाइदिन्छु, बरु मोडेल र कस्तो कलरको मन पर्ने हो मलाई लिंक पठाइदे त छोरा!’  उसले भन्यो, ‘बाबा मलाइ अहिले घडीको खाँचो छैन।’  ‘तेरो घडी पुरानो भैसकेछ नि छोरा,’ मैले भने।

‘घडी पुरानो भए पनि घडीले काम दिई नै रहेको छ। अनि महत्वपूर्ण कुरा के हो भने मसँग जे छ त्यसमा म पूर्ण सन्तुष्ट छु बाबा’, उसले भन्यो। मैले उसलाई भनिसकेको थिए, त्यो घडी कसैबाट उपहारको रुपमा आउने घडी हो। केही न केही नलिँदा साथीले राम्रो नमानेको कारणले मगाउन खोजेको कुरा उसलाई सुनाए।

रीवाजले भन्न थाल्यो, ‘कसैलाई मैले केही गरिदिएर उसको कल्याण भएको भनेर विश्वास गर्नु एक किसिमको घमण्ड हो बाबा! उहाँलाई राम्रो नराम्रो जे भएको छ त्यो सबै अंकलको आफ्नै खुवीले भएको हो, यदि अंकलको कुनै नोक्सानी भएको भए त्यसको क्षतिपूर्ति बाबाले दिएर पठाइसिन्थ्यो र?’ उसको प्रश्न आफैमा निकै अहम थियो, यद्यपि अझै भने ‘तपाइँसँग मैले केही लिन्न भनेर मैले भन्दा उहाँले नराम्रो मान्नुहुन्छ नि छोरा।’

‘कुनैपनि कुराको उपयोग कसरी गरिन्छ त्यसले उक्त कुराको महत्वलाई स्थापित गर्छ। अंकलको गाउँमा स्कुल, कलेजको खर्च जुटाउन नसक्ने कति कमजोर बिद्यार्थीहरु होलान्, अर्थात त्यस्तै अरु केही सृजनशील कामका लागि आर्थिक अभाव भएका कतिपय मान्छेहरु होलान, त्यो पैसा उनीहरुका लागि सहयोग गर्न सुझाव दिँदा कस्तो होला बाबा? हामीहरुले प्रयोग गर्ने घडी, मोबाइलको अस्तित्व त केवल २–४ बर्षको हुन्छ तर त्यहिँ पैसाको उपयोग गरी कसैले पाएको शिक्षाले समग्र समाज र देशलाई कति फरक पार्छ भन्ने कुरा त मलाइ भन्दा बढी बाबालाई थाहा छ नि, होईन र?’ उल्टै प्रश्न गर्यो उसले मलाइ।

उसको प्रश्नले म निकै प्रफुल्लित भए अनि धेरै धेरै धन्यवाद दिए मैले छोरालाई। त्यसपछि मेरो साथीलाई भोलिपल्टै फोन गरेर सबै वृतान्त सुनाएँ, छोराले यस्तो सल्लाह दियो मलाइ भनेर। त्यो कुरामा मेरो साथी पनि सहमत हुनुभयो।

अन्तत उहाँले मलाइ प्रस्ताव गर्नुभएको उपहारको पैसालाई आफ्नो गाउँका आर्थिकरुपमा कमजोर विद्यार्थीहरुका लागि आर्थिक सहयोग गर्ने सर्तमा हामी दुईबीचको उपहारको बिषयलाई दुईपक्षीय सहमतिमा स–सम्मान सल्ट्यायौ हामीहरु दुबैले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *