कारण खोज्दै प्रहरीः पाँच जनाको हत्या एक जनाबाट कसरी संभव भयो ?

डिसी नेपाल
२७ जेठ २०७७ ११:४२

काठमाडौं। रुपन्देहीको तिलोत्तमामा नगरपालिका कान्छीबजारस्थित एक गोठमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक व्यक्तिले हत्या गरेको स्वीकारेपछि प्रहरी अलमलमा परेको छ।

एकै व्यक्तिले एकै ठाउँमा पाँच जनाको हत्या कसरी संभव भयो भनेर प्रहरी अलमलमा परेको हो। तिलोत्तमा–१०, कान्छी बजारस्थित कृष्ण पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो। विहान ५ बजे पुन दूध लिन फार्म पुग्दा सो घट्ना भएको देखेर प्रहरीलाई खबर गरेका थिए।

घटनापछि प्रहरीले त्यही नजिकैबाट भुसको गोदाममा लुकेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको थियो। उनी बेहोस जस्तै अवस्थामा फेला परेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। अहिले अस्पतालमै रहेको अवस्थामा उनीसँग बयान लिँदा उनले कसुर स्वीकार गरेका छन्।

प्रहरीका अनुसार सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीका अनुसार सिंजालीले हत्या फरुवा प्रयोग गरी हत्या गरेको स्वीकारेका हुन्।

‘पक्राउ परेका व्यक्तिले अपराध कसुर स्वीकारेका छन् , प्रारम्भिक चरणमा यतिमात्रै भन्न सकिन्छ थप अनुसन्धान हुदैछ’, डिएसपी खत्रीले भने। सिंजालीले सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या गरेको स्वीकारेपनि उनीहरुलाई एउटै फरुवाले हानेर मात्रै कसरी हत्या संभव भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार करण र आशिष फार्मका कामदार होइनन्। उनीहरु त्यहाँ के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन। घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ। अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र धानुकका अनुसार अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली अनुसन्धानका लागि रुपन्देही पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *