कोरोना महामारीसँगै कृषिमा युवाको आकर्षण बढ्दो

डिसी नेपाल
३० जेठ २०७७ ९:४३

नुवाकोट। कोरोना भाइरस संक्रमण महामारी सुरु भएपछि अहिले अधिकांश मानिस गाउँ घरमा छन्। लकडाउनका कारण गाउँमै थुनिएका मानिस यतिबेला कृषि पेशामा संलग्न हुन थालेका छन्। अहिले खेती गर्ने सिजन पनि भएकाले गाउँ भित्रिएका मानिसहरु खेतीपातीमा व्यस्त हुन थालेका छन्।

असार लाग्ने समयमा खेतबारीको अत्याधिक काम हुने, काम गर्ने मानिस नपाइने भएपनि यो वर्ष सबै जसो मानिस गाउँ घरमा भएकाले काम गर्न सहज भएको कृषक बताउँछन्। शहर पसेकाहरु खेतमा काम गर्ने बेलामा गाउँ आउन छोडेपनि लकडाउनका कारण सबै जसो मानिस गाउँ फर्किएपछि पुरानो दिन फर्किएको अनुभूति भएको बताउँछन् नुवाकोट विदुरका ८५ वर्षीय विष्णु वस्ती।

‘ पहिला पहिला असार आउँदा सबै टोलका मान्छे जम्मा भएर काम गर्ने एकाअर्कालाई सहयोग गर्थे। तर अहिले विस्तारै कसैको कसैलाई मतलब नहुने जमाना आयो,’ उनले भने, ‘यो लकडाउनले पुरानो याद दिलाएको छ। फाँटमा हेर्दा पनि विगतको याद आयो।। सबै मिलेर काम गरेका छन्, अहिले गाउँघरमा रमाइलो छ।’

खेती गर्ने सिजन भएका कारण पनि यतिबेला खेतबारीमा सर्वसाधारणको हुल देखिन्छ। गाउँ घरमा कोरोना संक्रमणको कुनै प्रवाह देखिँदैन। खेतमा काम गर्दै गरेकी २२ वर्षीया बिन्दा राई भन्छिन्, ‘हामीलाई त खुब रमाइलो छ। अहिले काम गर्ने १८ जना छौं। लकडाउनलाई नराम्रो मान्न हुँदैन। झन सबैतिर मेलमिलाप बढेको छ। आफ्नो दाजुभाइ, समाज चाहिन्छ भन्ने कुरा पनि कतिपयले बुझेका छन्।’

‘यतिबेला शहर खाली छ भन्ने खबर आइरहँदा गाउँघर भरिभराउ छ, आफ्नो परिवारसँग समय बिताउने अवसर दिएकोमा धन्यवाद कोरोना भन्दै नुवाकोटकी सरिता तिमल्सिना भन्छिन्, ‘कहिले पनि यस्तो चान्स नै भएन। अहिले कति मज्जा छ। परिवार भित्रै एकाअर्कालाई बुझ्न पाइएको छ। यसरी मिलेर काम गरिएको छ। आफ्नो घर भनेको आफ्नै घर हो। सबै मिलेर काम गर्न पनि सजिलो।’

कोरोना संक्रमणका कारण विदेशमा रहेका नेपाली नागरिक धमाधम सरकारले स्वदेश फर्काइ रहेको छ। विदेशमा सीप सिकेको युवा नेपालमा फर्किएका छन्, उनीहरुलाई अब आफ्नो सीप अनुसारको रोजगारी दिएर गाउँ घरमै बस्ने वातावरण बनाउनु पर्ने धेरैको सुझाव छ। नेपाल कृषि प्रधानमुलुक भएपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन। अब कृषिलाई प्राथमिकतामा राखेर विदेशबाट फर्किएका युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्नुपर्ने युवाहरुले सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *