पाकिस्तानी गायक अदनान सामीले नेपाललाई होच्याउने ट्वीट डिलिट गर्न मानेनन्

डिसी नेपाल
३२ जेठ २०७७ १३:०५

काठमाडौं। पाकिस्तानी मूलका गायक अदनान सामीले नेपाल प्रति व्यङ्ग्य प्रहार गर्दै गरेको एउटा ट्वीट डिलिट गर्न अस्वीकार गरेका छन् । उनले नेपालले संविधान संशोधन विधेयक पारित गरेपछिको घटनाक्रममा ट्वीट गर्दै नेपाललाई भारतको अगाडि सानो र कमजोर देखाउने खालको तस्वीर प्रयोग गर्दै नेपाललाई होच्याउने आशयको ट्वीट गरेका थिए । जसलाई डिलिट गर्न एक प्रयोगकर्ताले गरेको आग्रहमा जवाफ दिँदै उनले डिलिट गर्न अस्वीकार गरेका हुन् ।

हिजो बेलुकी नेपालले परिमार्जित नक्सा अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पास गरेपछि भारतीय समाचार एजेन्सी एएनआइले यस विषयमा भारतको विदेश मन्त्रालयको आधिकारिक धारणा ट्वीट गरेको थियो । यही धारणामा प्रतिक्रिया दिँदै उनले ट्वीट गरेका थिए – ‘डियर नेपाल, सिरियसली ?’ (प्रिय नेपाल साँच्चै हो ?) यो ट्वीटसँगै उनले एउटा तस्वीर पोस्ट गरे । तस्वीरमा एउटा सिंहसँग बिरालोले आँखा जुधाइरहेको छ । यो तस्वीर पोस्ट गर्दै उनले नेपाललाई बिरालो र भारतलाई सिंहको रुपमा दर्शाएका थिए ।

उनको यो ट्वीटमा प्रतिक्रिया दिँदै एक प्रयोगकर्ताले ट्वीट डिलिट गर्न आग्रह गरे । ती प्रयोगकताृहरुले नेपाल र भारतका नागरिकबीच नजिकको नाता भएको बताएका छन् । यद्यपि उनले अहिलेको परिस्थिति नेपालको अहिलेको सरकारले सृजना गरेका छन् । यसको जवाफमा अदनानले ट्वीट डिलिट गर्न अस्वीकार गरेका छन् । बरु उनले यसमा उल्टै थप कुरा लेखेका छन् ।

अदनानले यसको जवाफ दिँदै लेखेका छन् ‘माफ गर्नुहोला तर मैले यो डिलिट गर्ने छैन । म पनि नेपालका नागरिकलाई दाजुभाइजस्तै माया गर्छु तर यदि उनीहरुको सरकारले चीनको उक्साहटमा लागेर गैरजिम्मेवार व्यवहार गर्छ भने त्यो अस्वीकार्य छ । उनीहरु आफ्नो सार्वभौमिकतासँग खेलवाड मात्र गरिरहेका छैनन्, उनीहरुले हाम्रो भ्रातृत्व पनि खतरामा पारिरहेका छन् ।’

स्मरणीय छ, सामी पाकिस्तानी हुन् । २ दशक अघि सन् २००१ देखि उनी भारतमा भिजिट भिसामा बस्दै आएका थिए । २०१६ सम्म पाकिस्तानी नागरिकता र पासपोर्ट बोकेर भारतमा भिजिट भिसामा बसेका उनले ४ वर्षअघि २०१६ मा मात्र पाकिस्तानी नागरिकता त्यागेर भारतीय नागरिकता लिएका हुन् । उनका पिता पाकिस्तानी एयरफोर्सका पाइलट थिए जसले भारत–पाकिस्तान युद्धमा भारतविरुद्ध लडेका थिए । पाकिस्तानी मूलका सामी यसरी भारतको पक्षमा नेपालप्रति हेपाहा रुपमा प्रस्तुत हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *