तीन कारणले धर्म परिवर्तन

डिसी नेपाल
६ असार २०७७ ८:४७

हिन्दू धर्ममा तीन प्रकारका विभेदको अन्त्य वा परिवर्तन भयो भने धर्म परिवर्तनको औचित्य नरहने रहेछ। पछिल्लो समयमा नेपालमा लगायत अन्य हिन्दू धर्मको बाहुल्यता भएका समाजहरुमा धर्म परिवर्तन गर्ने गराउने प्रचलन बढेको देख्न सकिन्छ।

अत्यन्त सरल र लचिलो सनातन धर्मलाई त्यागेर किन कसैले फरक र गैरसामुदायिक धर्म अनुसरण गर्नु परेको होला। बिषय सोचनीय छ। हिन्दू धर्म किन राम्रो छैन वा किन परिवर्तन गर्नु पर्ने भएको होला? यस प्रश्नको उत्तर सबैको आ–आफ्नो बुझाइ अनुसार फरक फरक हुन्छ, त्यसमा दुई मत छैन। मेरो बुझाइमा तल चर्चा गरेका बिषयहरु प्रमुख हुन्।

१. लिंगका आधारमा बिभेद

सामान्यत हरेक धर्ममा महिला र पुरुषलाई फरक दृष्टिकोणले हेरेको पाइन्छ। तर, आफ्नो धर्मको ज्ञान अरु धर्मभन्दा धेरै हुने हुँदा अरुको धर्म राम्रो छ आफ्नो चै नराम्रो भन्ने भावनाले सजिलै मनमा घर बनाउँछ। विशेषत दैनिकरुपमा बिभिन्न विभेद भोग्नु पर्दा यस्तो लाग्नु स्वाभाविक हो। हिन्दू धर्ममा स्त्री देवीहरुको पूजा हुन्छ। अन्य धर्ममा स्त्री ईश्वरको आमा त हुन्छन् तर आँफै ईश्वर हुँदैनन्। तर, हिन्दू धर्ममा पनि पूजा गर्ने चाहिँ पुरुष हुन्छन्।

शिक्षित नहुने वा शिक्षामा पहुँच नहुने भएकोले महिला पण्डित नहुनु आश्चर्य होइन। कर्मकाण्ड जान्ने पुजारी वा ब्राम्हण्मात्र भएको शिक्षामा पहुँच भएरै त हो। ब्राम्हणको घरकी महिलालाई चार दिन भान्छा, मन्दिर, र पुरुषलाई छुन हुँदैन भनेर ज्ञान दिइन्छ। रजस्वला भएको समयमा यो नियम लागू हुन्छ। जबकि हिन्दू धर्म मान्ने अन्य कतिपय जात जाती मा यो चलन छैन। एउटै धर्म, फरक फरक बुझाइ।

कुन बुझाइ सही हो त? जुन बुझाइले स्त्रीको सम्मान बढाउँछ, त्यही सही हो। धर्मको औचित्य अरुलाई सम्मान दिनु पनि त हो। हरेक स्त्रीमा देवी हुन्छिन किनकि देवीका सयौं रुप छन्। फरक रुप र अवस्था हुँदैमा वा फरक जात हुँदैमा स्त्रीको प्रतिष्ठा काम हुने होइन।

स्त्रीलाई अछुत मान्ने प्रचलन हटाउनु जरुरी छ। र, यो बिषय पुरुषले भन्दा महिलाले बुझ्न बढी जरुरी छ, किनकि महिलामाथि शासन गर्न पुरुषमात्र नभै महिला पनि उत्तिकै सकृय छन् तर फरक सामाजिक पात्र, बिशेष गरी सासु, आमा, जेठानी, मालिक्नी वा गुरुआमाका रुपमा। यसर्थ सामाजिक मर्यादाक्रम वा सहिष्णुता भंग गर्नु पर्छ भन्ने कदापि होइन। तर, परिवर्तन आफैंबाट सुरु गर्दा सजिलो र प्रभावकारी पनि हुन्छ।

तसर्थ स्त्रीलाई अछुत मान्ने प्रचलन हटाउनु जरुरी छ। र, यो बिषय पुरुषले भन्दा महिलाले बुझ्न बढी जरुरी छ, किनकि महिलामाथि शासन गर्न पुरुषमात्र नभै महिला पनि उत्तिकै सकृय छन् तर फरक सामाजिक पात्र, बिशेष गरी सासु, आमा, जेठानी, मालिक्नी वा गुरुआमाका रुपमा। यसर्थ सामाजिक मर्यादाक्रम वा सहिष्णुता भंग गर्नु पर्छ भन्ने कदापि होइन। तर, परिवर्तन आफैंबाट सुरु गर्दा सजिलो र प्रभावकारी पनि हुन्छ।

२. धनको आधारमा विभेद

ठूलो फूलको थालीमा धेरै दक्षिणा राखेर मन्दिर प्रवेश गर्दा धर्म हुने वा धेरै धर्म कमाइने भन्ने बुझाइ परिवर्तन गर्न जरुरी छ। इश्वरलाई कसैले मन्दिरमा खोज्छन्, कसैले मनमा खोज्छन्, कसैले परस्पर सेवामा खोज्छन्। कसले पायो त अहिलेसम्म थाहा छैन। तर, मनमा सन्तोष भएको दिन इश्वर प्राप्ति भएको हुन सक्छ।

यस्तो सन्तोष कसैलाई पूजा गरेर प्राप्त हुन्छ, कसैलाई सेवा गरेर त कसैलाई धन कमाएर। तर, धन हुने ब्यक्ति इश्वरको नजिक पुग्ने र गरीब नपुग्ने होइन। ब्यक्तिले त धनको आधारमा बिभेद गर्नु सामान्य हुन सक्छ। तर, सरकारले पनि त्यसो गर्नु अमान्य हुन्छ। पाशुपत् क्षेत्रमा खुल्लम खुल्ला देख्न सकिने यस्तो धनमा आधारित बिभेदले धर्मप्रति बितृष्णा र असमन्जस्यता फैलाउँदछ।

यस्ता विभेद अन्य सबै पवित्र स्थलहरुमा देख्न सकिन्छ। यो बन्द हुनु जरुरी छ। कसैलाई आफूले कमाएको धनबाट इश्वरलाई समर्पण गर्दा सन्तोष हुन्छ भने ठीक छ, गर्नु राम्रो। तर, धन समर्पण गरेकै आधारमा बिभेद हुने हो भने गरीबलाई धर्म किन चाहियो त? वा धर्मलाई गरीब किन चाहियो त?

कसैले बाँडेको खाना खाइदिन मात्र गरीब चाइने हो भने त्यो त जुन धर्मले पनि गर्दछ। अझ राम्ररी पनि गर्दछ । तसर्थ धन माध्यम हो, लक्ष्य हो तर साध्य होइन। धर्म पनि माध्यम हो, लक्ष्य हो, साध्य होइन। साध्य त सन्तोष हो। सन्तोषमै शान्ति छ, सफलता छ, प्राप्ति, छ अनि इश्वर छ। धनका आधारमा बिभेद गर्न छोडेमा बिभेदित बर्गले धर्म परिवर्तन गरिरहन पर्दैन।

३, शक्तिको आधारमा बिभेद

शक्तिहीन समाजको परिकल्पना गर्न सकिन्न। शक्तिकै आधारमा समाजको ब्यबस्थापन सम्भब छ। प्रकृतिको नियम पनि शक्तिको पर्याय हो। मानवलाई इश्वरले रचना गरे वा मानवले इश्वरको रचना गरे, मलाई भन्न अलि गाह्रो पर्छ। किनकि मेरो चैतन्यको बिकास त्यति गहिरो भएको छैन होला। तर जुनसुकै धर्ममा पनि मन्दिर मनिसले बनाएका हुन्।

आआफ्नो परिवेशका आधारमा भगवानको प्रारुपको परिकल्पना गरिएको छ। त्यसैगरी राजालाई ईश्वरको अवतार मान्ने प्रचलन त हिजो अस्तिसम्म हाम्रै समाजमा थियो। हुन पनि हिन्दू धर्ममा भगवानहरु सबै जसो राजा नै रहेका छन्।

बिष्णु र लक्ष्मी बैकुन्ठका (पाताल) अधिपति, शिब पार्वती कैलाशका (शिखर) अधिपति, ब्रम्हा ब्रम्हान्डका (धर्ती) अधिपति, इन्द्र स्वर्ग (मृत्युपश्चात प्राप्त हुनु पर्ने स्थान) का अधिपति, राम अयोध्याका अधिपति, कृष्ण मथुराका अधिपति आदि इत्यादि। यसैले शक्ति हुने ब्यक्ति कि अधिपति कि अधिपतिका नजिक। गरीब त अधिपतिकै साथी पनि सुधामा (गरिब को प्रतिनिधि)।

धर्ममा शक्तिको यति ठूलो स्थान भएको हुँदा समाजमा शक्तिशालीहरुले धर्म र धर्मका प्रतिष्ठानहरुमा सहज पहुँच पाउनु आश्चर्य होइन। साथै धार्मिक आधिपत्य जमाएका मान्यबरहरुले सरकार र शक्तिमा उल्लेख्य प्रभाव बनाउनु पनि अनौठो होइन। तर, शक्तिहीन वा शक्तिमा कम पहुँच भएका ब्यक्तिहरु हिन्दू धर्मकै अनुसरण गरिरहनु पर्ने अवस्था भने रहिरहन्न।

फलस्वरूप सामान्य जिविकोपार्जनका आधारभुत कुराहरु पाउने बितिक्कै धर्म परिवर्तन गर्नेहरु हुन्छन् र तीनलाई दोष दिनु पर्ने पनि छैन। वा सहयोग गरेर धर्म परिवर्तन गराउनेहरुलाई पनि दोष दिन मिल्दैन। कमजोरी हिन्दू धर्मभित्रका ठेकेदारहरुमा छ। शक्तिशालीलाई सहज र कमजोरलाई ढिला अनि कठिन तरिकाले प्राप्त हुने इश्वरलाई कहिलेसम्म मनिसले अनुसरण गरिरहने त?

तसर्थ जबसम्म धर्ममा स्त्रीको सम्मान हुँदैन, गरीबको स्थान हुँदैन, र कमजोरलाई खेद्ने समस्याको समाधान हुँदैन, धर्म परिवर्तन रोकिँदैन। आज संख्या कम भएको त्यति महत्वपूर्ण नहोला तर एक दिन परिस्थिति र प्रकृतिसमेत परिवर्तन हुनेछ किनकि जनमानसले नमाने कुन धर्म कहिलेसम्म टिक्नसक्छ र?

(अमेरिकाको क्यालिफोर्निया निवासी अधिवक्ता घिमिरे कानूनमा पीएचडी अध्ययनरत छन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *