एमसीसी बहश : जनता समाजवादी पार्टीले के गर्ला?

मदन कोइराला
८ असार २०७७ १३:१८

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयलाई लिएर यतिबेला मुलुकको राजनीतिक गर्माएको छ। एमसीसी पारित गर्ने र नगर्ने विषयमा मुलुकको राजनीति दुई धु्रवमा विभाजित बनेको छ।

विशेष गरी सत्तारुढ दल नेकपाभित्र एमसीसीका विषयलाई लिएर तीव्र मतभेद देखिएको छ। नेकपाले यही विषयमा छलफल गर्न जेठ दश गते स्थायी कमिटी बैठक बोलाएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने संसदबाट एमसीसी पारित गर्नुपर्ने बताउँदै आएको छ।

तर मधेस केन्द्रित दलले भने एमसीसीका विषयमा आधिकारित धारणा सार्वजनिक गरेका छैनन्। तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले एमसीसीका विषयमा छिट्टै बैठक बसेर धारणा सार्वजनिक गर्ने जनाएको छ। जनता समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमसीसीलाई राष्ट्रहितमा हुने गरी पारित गर्नु पर्ने बताए।

‘यो परियोजनालाई राष्ट्रहितमा हुने गरी संसदबाट पारित गर्नुपर्छ,’ अध्यक्ष यादवले डिसी नेपालसँग भने, ‘के के विषय संशोधन गर्ने भनेर एउटा प्राविधिक टीम बनाएर त्यसले दिएको सुझावको आधारमा केही राष्ट्रहितमा हुने गरी पारित गर्नुपर्छ।’

सांसदमा पेश गर्ने मिति नजिकिँदै गर्दा एमसीसी पारित गर्ने नगर्ने विषयमा सत्तारुढ दलभित्र विवाद बढ्दै जाँदा अन्य दल भने पर्ख र हेरको अवस्थामा छन्। सरकारले संसदमा टेवल गरेपछि मात्रै धारणा बनाउने नेताहरुले जनाएका छन्।

सांसदमा पेश गर्ने मिति नजिकिँदै गर्दा एमसीसी पारित गर्ने नगर्ने विषयमा सत्तारुढ दलभित्र विवाद बढ्दै जाँदा अन्य दल भने पर्ख र हेरको अवस्थामा छन्। सरकारले संसदमा टेवल गरेपछि मात्रै धारणा बनाउने नेताहरुले जनाएका छन्।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले एमसीसीका विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरेको उल्लेख गर्दै तर एमसीसीका कतिपय बुँदा हेर्दा त्यसलाई पारित गर्न नहुने बताए। ‘एमसीसीका विषयमा पार्टीको बैठक बसेर धारणा सार्वजनिक गरिन्छ,’ महतोले डिसी नेपालसँग भने, ‘तर एमसीसीमा गडबड छ। कस्तो गडबड भने देश हाम्रो, सम्पत्ति हाम्रो, भूमि हाम्रो तर जनिमदारी अरुको हुने कुरा राम्रो होइन।’

उनले एमसीसी पारित गरेपनि, नगरेपनि मुलुक अप्ठेरोमा पर्ने दाबी गरे। नेपालले कुनै परियोजनका लागि सम्झौता गर्ने तर मुलुकभित्र आएर त्यसलाई सिद्ध गर्न नसक्ने अवस्थाले विश्वको सामु नेपालको छवि खराब हुने उनले बताए। उनले एमसीसीका केही प्रावधान राष्ट्रियता विपरित भएकाले त्यसलाई रोक्नुपर्ने बताए।

सरकारले एमसीसी संसद टेवल गरिनसकेको अवस्थामा अहिले नै यो विषयमा टिप्पणी गर्न हतार हुने बताउँछन् जसपा नेता राजकिशोर यादव। ‘यो विषयमा सत्तारुढ दलभित्रै विवाद छ, संसदमा टेवल हुने नहुने पनि निश्चित छैन,’ यादवले डिसी नेपालसँग भने, ‘तर जसरी बाहिर एमसीसीका विषयमा नकारात्मक हल्ला फैलाइएको छ, हल्ला फैलाइए जस्तो विषय होइन।’

उनले पछिल्लो समय नेपालमा जे विषयलाई पनि राष्ट्रवादसँग जोड्ने गरिएको भन्दै नेपाल विश्व समुदायबाट एक्लिएर बस्न नसक्ने बताए। ‘अहिलेको विश्वव्यापीकरणको अवस्थामा नेपाल पूरै विश्वसँग एक्लिएर बस्न सक्ने अवस्थामा छैन,’ उनले भने, ‘एमसीसीमा नेपाललाई अहित हुने कुरा म देख्दिन। पारदर्शीताका हिसावले अमेरिकाले केही प्रावधान राखेको हुनुपर्छ।’

उनले इण्डोप्यासेफिक रणनीतिको भाग एमसीसी नभएको उनको तर्क छ। अहिले एमसीसी पारित गरेर जाँदा नेपाललाई फाइदा हुने यादवले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *