सुशान्त सिंह राजपुत आत्महत्याः बलिउडमा आयो भुइँचालो, ठूला सेलिब्रेटीहरु भागाभाग

डिसी नेपाल
९ असार २०७७ १४:१५

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि सुरु भएको भाइभतिजावाद र खेमेबाजीको बहसले अहिले पूरै बलिउड फिल्म उद्योगमा भुइँचालो ल्याएको छ । सामाजिक संजालमा ठूला प्रोडक्सन हाउस र स्टारकिड्समाथि धावा बोल्ने सिलसिला सुरु भएपछि अहिले ठूला सेलिब्रेटीहरुको सामाजिक संजालमा भागाभाग भएको छ । उनीहरुको पोस्टमा कमेन्ट गरेर आरोपको ओइरो लाग्न थालेपछि उनीहरुले सामाजिक संजालमा आलोचना थाम्न नसकेर भाग्न थालेका हुन् ।

सुशान्तको आत्महत्यामा स्टारकिड्स र ठूला प्रोडक्सन हाउसको हात रहेको आरोप लाग्न थालेपछि नेपोटिज्मको आडमा बलिउडमा स्थान बनाएका सेलिब्रेटीहरु कोही सामाजिक संजाल छाडेर भाग्न थालेका छन् भने कोहीले कमेन्ट सेक्सन नै लक गरेका छन् । यस्तो गर्नेमा अधिकांश करण जौहर क्याम्पका छन् । करण जौहरमाथि स्टारकिड्सलाई मात्रै अघि बढाएको आरोप लाग्दै आएको छ । करण जौहर स्वयंले पनि कमेन्ट सेक्सन लक गरेका छन् ।

पछिल्लो समय कमेन्ट सेक्सन लक गर्नेहरुमा आलिया भट्ट, करिना कपूर, सोनम कपूर, सोनाक्षी सिन्हा, अनन्या पांडे र सुहाना खान छन् । यी सबै स्टारकिड हुन् । आलिया निर्देशक तथा निर्माता महेश भट्टकी छोरी हुन् । करिना कपूर अभिनेता, निर्माता तथा निर्देशक रणधीर कपूरकी छोरी हुन् । सोनम कपूर स्टार अभिनेता अनिल कपूरकी छोरी हुन् । सोनाक्षी अभिनेता शत्रुघ्न सिन्हाकी छोरी हुन् । अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन् भने सुहाना सुपरस्टार शाहरुख खानकी छोरी हुन् । अहिले यिनीहरुको पोस्टमा क्लोज फ्रेण्डले मात्र कमेन्ट गर्न सक्छन् ।

१४ जूनमा सुशान्तले आत्महत्या गरेपछि कंगना रनोटले सिधै करण जौहरलाई यसको लागि जिम्मेवार ठहर गर्दै उनीमाथि नेपोटिज्मलाई बढावा दिएको आरोप लगाइन् । त्यसपछि शेखर कपूर, अनुभव कश्यप, अभय देओल, कोएना मित्रा, रवीना टंडन लगायतका सेलिब्रेटहिरु पनि यस विषयमा अगाडि आए । सामाजिक संजालमा यिनीहरुले ठूलो समर्थन पाए । करण जौहर, आदित्य चोपडा, एकता कपूर, संजय लीला भंसाली, सलमान खान, साजिद नाडियावाला लगायतलाई नेपोटिज्म र खेमेबाजीको लागि जिम्मेवार ठहर्याइयो र स्टारकिड्सलाई पनि निशाना बनाउन थालियो ।

विवाद बढ्न थालेपछि करण जौहरले ट्वीटरमा अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र अन्य ४ अफिसका सदयलाई छाडेर अरु सबैलाई अनफलो गरे । त्यसपछि ट्वीटर डिलिट गर्ने सिलसिला सुरु भयो । ट्वीटर डिलिट गर्ने सिलसिला सलमान खानको क्याम्पबाट सुरु भयो । सोनाक्षी सिन्हाले ट्वीटर डिलिट गरेपछि सलमानकै क्याम्पका आयुष शर्मा, साकिब सलिम र जहीर इकबालले पनि ट्वीटर डिलिट गरे । यही क्याम्पका निर्माता मुदस्सर अजीजले त ट्वीटर र इन्स्टाग्राम दुवै डिलिट गरे । स्मरणीय छ आयुष शर्मा सलमान खानका ज्वाइँ हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *