लकडाउन खुकुलो भएपछि तंग्रिँदै काठमाडौं (भिडियो)

डिसी नेपाल
१० असार २०७७ १९:१०

काठमाडौं। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले जनजीवन प्रभावित हुँदै गएपछि सरकारले अहिले लकडाउन खुकुलो पारेको छ । सरकारी तथा निजी कार्यालयहरु संचालनमा आएका छन् । सडकमा सवारीसाधनको उपस्थिति बाक्लिएको छ । जोर बिजोर गरेर देशभर निजी सवारी साधन संचालनमा आएका छन् ।

लकडाउन खुकुलो गरिएसँगै देशभरबाट काठमाडौं उपत्यका प्रवेश गर्ने मानिसहरुको भिड पनि बाक्लिदैं गएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार गएको २४ घण्टामा मात्रै ५ सय ३८ वटा हल्का सवारी साधन उपत्यका प्रवेश गरेका छन् । उपत्यका प्रवेश गर्नेहरुमा अधिकांश काठमाडौंमा विभिन्न कार्यालयहरु संचालनमा आएपछि लकडाउनअघि घर गएका कर्मचारीहरु छन् । साथै उपत्यकामा विभिन्न व्यापार तथा व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु छन् ।

उपत्यका प्रवेश गर्ने मानिसहरुको संख्या बढ्दै गएपछि प्रहरीले चेकजाचमा कडाइ गरेको छ । चेकजाँचका क्रममा पास नभएका सवारी साधनलाई फिर्ता गर्ने गरिएको डीएसपी श्रेष्ठको भनाई छ ।

लकडाउन खुकुलो भएसँगै पास भएका सवारी साधनलेसमेत पासको दुरुपयोग गर्दै आएका छन् । अहिलेसम्म तेस्ता ७ वटा सवारी साधनलाई संक्रामक रोग ऐन अन्तर्गत कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘अहिले पास भएका सवारी साधनलेसमेत पासको दुरुपयोग गर्दै आएका छन् । हिजोमात्रै पनि काठमाडौंका होल्डिङ सेन्टरमा रहेका यात्रु बोकेर पोखरा गएको बसले फर्केर आउँदा ८ जना यात्रुहरु बोकेर आएको थियो ।’ उनले अगाडि भने, ‘ती मानिसहरु बसका त्यति साघुँरो सिट मुनी लुकेर आएका थिए । जसमा महिलाहरुसमेत थिए । उनीहरुसँग बस चालकले प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएको रहेछ ।’ अहिले ति यात्रुलाई घर फर्काएर सवारी साधनलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गाउँपालिका तथा वडा कार्यालयका पास बोकेर काठमाडौं आउने सवारी साधनको संख्या पनि उत्तिकै छ । तर, त्यस्ता पासलाई नेपाल प्रहरीले मान्यता दिएको छैन ।

त्यस्ता पास बोकेर आउने जो कोहीलाई पनि प्रहरीले फिर्ता पठाउने गरेको डिएसपी श्रेष्ठको भनाई छ । साथै उनले तेस्ता पास बोकेर यति टाढा आएर फर्कनु भन्दा काम भए सरकारले तोकेको पास बोकेर मात्रै आउन आग्रह गरेका छन् । हामीले डीएसपी श्रेष्ठलाई पास नभएका मानिसलाई छोड्न प्रेसर कत्तिको आउँछ भनेर प्रश्न गर्यौँ प्रश्न सकिन नपाउँदै उनले भने, ‘त्यस्तो प्रेसर केही पनि छैन । कहिले काहीरा फोन आउँछ तर, एकदमै समस्यामा भए अवस्था हेरेर छोड्न भन्नुहुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *