अब मोबाइलमा एप डाउनलोड गर्न पनि सरकारको अनुमति चाहिने !

डिसी नेपाल
१२ असार २०७७ १८:३१

काठमाडौं। यो २१ औं शताब्दीलाई सूचना प्रविधिको युग भनिन्छ। संसार स्मार्ट भइसकेको छ। नेपालहरुको हात हातमा स्मार्ट एन्ड्रोयड मोबाइल छन्। अहिले धेरैजसो कामहरु मोबाइलबाटै हुन्छन्। विभिन्न कामका लागि विभिन्न मोबाइल एप्सहरुको प्रयोग हुन्छ।

त्यसैले मोबाइल प्रयोग कर्ताहरुले आफूलाई आवश्यक पर्ने एप्सहरु डाउनलोड गर्दै आएका छन्। तर, अब त्यसरी सजिलै मोबाइलमा एप्स डाउनलोड गर्न नसकिने हुन सक्छ। सरकारले संसदीय समितिको निर्देशन कार्यान्वयन गर्यो भने विनाअनुमति अब मोबाइलमा एप्स डाउनलोड गर्न पाइने छैन।

प्रतिनिधिसभा अन्तगर्तको विकास तथा प्रविधि समितिले सरकारलाई एप्सहरु डाउन लोडमा अंकुश लगाउने व्यवस्था गर्न निर्देशन दिएको छ। समितिले एप तथा सामाजिक सञ्जालमा अंकुश लगाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समिति बैठकले सरकारको अनुमतिमा मात्र एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले सरकारको नाममा जारी गरेको निर्देशनमा नेपालभित्र प्रयोग हुने एप तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनीयता र उपयोगीताका हिसावले उपयुक्त रहेको विषय नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै सरकारी वेबसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीको अनिवार्य सेक्यरिटी अडिट गर्ने व्यवस्था मिलाउन र सरकारी डोमेन नेम निजी क्षेत्रवाट दर्ता हुँदै आएकोमा यस्तो कार्य सरकारी निकायबाट गर्न आवश्यक व्यवस्थाका लागि समेत निर्देशन दिइएको छ।

समितिले भनेको छ, ‘नेपाल सरकारका सबै निकायका जिम्मेवार पदाधिकारीहरुलाई सूचना प्रविधि सम्बन्धी विद्युतीय सञ्चारका साधनहरुको प्रयोग र यस बारेमा सचेतनाका लागि आवश्यक कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था गर्न समिति नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लाई निर्देश गर्दछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *