लकडाउन दैनिकीः शान्त शहर, अशान्त मन

कोरोना माहामारीले गर्दा सरकारले लकडाउन गर्नु अघिदेखि नै साना छोरीहरुका साथमा आफूलाई घरभित्रै कैद गरेकी थिएँ । सरकारले लकडाउन लगाएको पनि ३ महिना पूरा भइसक्यो । आफूलाई घरका कोठाचोटा र छतभन्दा बाहिर निकाल्न सकेकी छैन ।

साथीहरू लकडाउन अवधिमा पनि नजिकै रहेका लब्ली डाँडा, मेथलाङको डाँडा, सारङ्कोट, पामे लगायत फेवाताल वरिपरिका डाँडाकाँडातिर मर्निङ वाक, पिकनिक, हाइकिङ गएका रमाइलो गरेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने गर्छु । सोच्छु कति जाँगर होला ?

हिजोआज साथीभाइहरुले के गर्नुभयो कता जानुभयो भनेर सोध्न भौतिक रुपमा भेट हुनुपर्छ भन्ने छैन । सामाजिक सञ्जाल नै काफी छ । कोही तौल घटाउन व्यस्त कोही, लेखपढमा, कोही घर सजावटमा, कोही भने फुर्सदको समयमा युट्युबबाट हेरेर खानाका मीठा मीठा परिकार बनाउनमा व्यस्त त कोही कृषिमा । आफू भने शून्य छु । किन यस्तो भएँ होला ?

कोेरोना कहरअघि जीवनको एउटा रफ्तार थियोे, बिहान उठेदेखि सुत्नु अघिसम्म । यति हुँदा पनि आफ्नो रुचिको पुस्तक पढ्न लेख्नका लागि समय निक्लिन्थ्यो तर अहिले समय नै समय छ, दिमाग भने शून्य ।

हरेक दिन बिहानै उठेर घरको छतमा पुग्छु वरिपरि हेर्छु जतासुकै शून्य लाग्छ । फेवालाई हेर्छु, मौन छ । न त त्यहाँ रंगीबिरंगी डुङ्गा नै तैरिरहेका छन् न त ती डुङ्गामा सवार भएर फेवातालमा माछापुच्छ्रेको छायाँ हेर्न लालायित प्रतिक्षारत पर्यटक नै ।

मन खिन्न हुन्छ एकतमासले हेर्छु वरिपरिका हरिया वन । माथिको अलि अग्लो टाकुरो सारङ्कोटलाई । त्यसलाई पनि शान्त देख्छु । बिहान झिसमिसेदेखि नै भरिभराउ चहलपहल हुने सारङ्कोट मस्त निन्द्रामै सुतिरहेको लाग्छ । बिहानै सूर्याेदयको दृश्यका साथै माछापुच्छ्रे र अन्नपूर्णलाई आँखाले अघाउन्जेल हेरेर नपुगेर, पाराग्लाइडिङमा समेत उडेर मज्जा लिने पर्यटकका अभावमा शून्य छ ।

लकडाउन अवधि अगाडि जीवन लाग्थ्यो एउटा राजमार्ग हो जहाँ सवारी साधन आउने जाने क्रम रोकिन्न । आफूलाई पनि त्यस्तै सोच्थेँ । घर होटल व्यवसाय र २ साना नानीहरु तिनको पूर्ण जिम्मेवारी आफूमाथि जिन्दगी राजमार्गभन्दा कम थिएन ।

यतिले मात्रै नभएर साहित्यमा रुचि राख्ने साहित्यको विद्यार्थीका नाताले सकेसम्म सबैतिरको चाँजोपाँजो मिलाएर पोखरा नगरभित्र हुने गरेका साहित्यिक कार्यक्रममा समेत पुग्ने गर्थें । पर्यटनकर्मी भएकाले यससँग सम्बन्धित विविध कार्यक्रममा सहभागी हुने गर्थें । यति बेला यी सबै गतिविधि शून्य छन् ।

न छोरीलाई बिहानै उठेर स्कुल पढाउने चटारो न श्रीमानलाई होटलका कुनै काममा सघाउन पुग्नु पर्ने भन्ने हुटहुटी । समय नै समय छ । केवल समय कसरी काट्ने र दिन बिताउने भन्ने छ । पकाउने खाने खुवाउने र टेलिभिजन हेर्नु नै छ हिजोआजको दिनचर्या । समय नभएर गर्न सकिन भनेका र समय भए यो–यो गर्ने थिएँ भनेका योजना र कामका लिस्ट यसै थाँती छन् । दिमाग शून्य भएको छ ।

हुन त सायद यो अवस्था मेरो मात्रै हैन होला । पर्यटनको राजधानी पोखराका हरेक पर्यटन व्यवसायी जसको व्यापार व्यवसाय विगत ३ महिनादेखि पूर्णरुपमा बन्द छन् आय आर्जनको बाटो शुन्य छ । सामान्य दैनिकी चलाउन नसक्ने अवस्था आइसक्यो अनि दिमाग कसरी सक्रिय रहन सकोेस् ।

होटलको छतबाट वरिपरिका अरु होटललाई साँझको समयमा नियाल्ने गर्छु । सधैं पूर्णिमाको जुन झै उज्यालो हुने लेकसाइड अन्धकार छ । मन नमीठो हुन्छ । सुनसान छ जताततै । यही सुनसान स्थितिमा अशान्त छन् पर्यटनकर्मीका मनहरु । २०२० नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटकीय क्षेत्रमा गरिएको नयाँ व्यवसायीका लगानी लगभग डुब्ने अवस्थामा छ ।

आफूसँग हुनेहरु र हामीजस्ता नाकको फुली समेत बन्धकी राखेर व्यवसायमा लगानी गर्नेको भविष्य लगभग आधि पानीमा डुबेको डुङ्गाझैं भएको छ – न निल्नु न ओेकल्नुु । सिजन र अफ सिजनको कुरा भएन, कोरोनाको कहर विश्वबाट कहिले समाप्त हुने हो त्यसमा पनि निश्चितता छैन । यस्तो अवस्थामा संघर्र्ष र आत्मबलले चलेको जीवन र व्यावसाय कसरी धान्ने ?

१६ बर्षदेखि श्रीमान सँगसँगै पर्यटन क्षेत्रमा समर्पित छु । आफूले गर्दै आएको शिक्षण पेशालाई छाडेर दुवै जना पर्यटन कर्ममै आश्रित छौं । सानो हावाको झोक्काले पनि तहसनहस पार्न सक्ने यो पेशामा दुवै जना लाग्नु हुने रहेनछ भनेर आज आएर पछुतो मान्दै छु । पर्यटकीय क्षेत्र लेकसाइडको मुटुमा रहेका महंगो शुल्क तिरेर भाडामा सञ्चालित पसलहरु मात्रै नभएर आफ्नै वरिपरिका भाडामा होटल चलाउनेहरुले पनि ठूला ठूला ट्रकमा समान लादेर पर्यटन व्यबसायबाट विस्थापित हुँदैछन् ।

१० बर्षे जनयुद्ध भोेगेको पर्यटन क्षेत्र, २०६२÷०६३ सालको जनआन्दोलन र २०७२ सालको महाभूकम्पमा समेत दह्रो रुपमा खडा रहेको पर्यटनलाई कोरोना महामारीले भने उठ्न नसक्ने गरी ढाड फुस्काएको छ ।

विविध समयका दैवीप्रकोप, राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन हुन् या बेलाबेलामा आइलाग्ने माहामारी होस् यसले वर्गीय द्वन्द्व नै सिर्जना गराउने गर्दछ । एक वर्ग विस्थापित भएर अर्को वर्ग हावी हुने । यो अवस्थालाई मैले पनि टड्कारो रुपमा नजिकबाट आफै भित्र अनुभव गर्दैछु ।

सानो लगानीमा बैंकबाट ऋण लिएर साहसका साथ पर्यटनका क्षेत्रमा गर्ने साना व्यवसायीहरु विस्थापित हुने अवस्था पक्का छ । बैंकको व्याज किस्ता, सरकारलाई बुझाउने कर, घर व्यवहार, व्यवसायलाई जीवन्त राख्ने मुख्य मार्ग नै बन्द भएपछि व्यवसायीको अवस्था र हात्तीको देखाउने दाँत एकै भएको छ ।

हामी जस्ता मध्यम वर्गीय परिवारबाट संघर्ष गर्दै बैंक, वित्तीय संस्थासँग ऋण लिएर हिम्मत र मेहनतले व्यवसाय गर्छु भनेर अगाडि बढ्ने व्यवसायी र दैनिक मजदूरी गर्ने मजदुर एकै लाग्यो मलाई । मजदुरले आज कमाउँछ भोलि खान्छ । व्यवसायीले पनि आज कमाउँछ भोलि ऋण तिर्छ र आफ्नो व्यवसायमा स्थापित हुन्छ । मजदूर भोकले मर्छ व्यवसायी ऋणले ।

सबै व्यवसायीको यही अवस्था छ भन्ने हैन तर हामी जस्ता मध्यम वर्गबाट माथि उठ्न प्रयत्नरत छौं सायद तिनीहरू सबैका पीडा एकै हुन्। पीडा र तनावका प्रकृति फरक छन् मात्रा फरक छन् तर यो महामारीको चपेटामा नपर्ने कमै होलान् ।

कोरोना महामारीले सबै कुरा खतम बनायो बिगार्याे भन्ने मात्रै छैन । घडीको सुइसँगै चलेको मानव जीवनले विश्राम पाएको छ । आफन्त छरछिमेकीसँग उभिएर बोल्ने फुर्सद नहुनेहरु अहिले प्रत्यक्ष भेटेर होस् या फोन इन्टरनेटका माध्यमबाट घन्टौ गफ गर्न फुर्सदिला भएका छन् । बर्षौं घरबाट टाढा रहेकाहरु मरे पनि आफन्तका साथ मरौं भनेर धमाधम फर्किदै छन्। धरतीले पनि केही समय विश्राम पाएको छ । आखिर दौडधुप केका लागि ? सबैभन्दा ठूलो त बाँच्नु नै रहेछ भनेर जीवनको यथार्थ बोध गराएको छ । यो जीवनको सबैभन्दा सकारात्मक पाटो पनि हो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो