चीनको साढे ३ खर्ब मूल्यको ८३ टन सुन नक्कली ! सुन भनेर राखेको तामा निस्कियो

काठमाडौं। चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ । वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनीले यति ठूलो घोटाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।

रिपोर्टअनुसार किंगोल्डले विगत ५ वर्षको अवधिमा चीनका १४ फाइनान्सियल कम्पनी (श्याडो बैंक)बाट २.८ बिलियन डलर (३ खर्ब ३७ अर्ब ९० करोड नेपाली रुपैयाँ) ऋण लिएको थियो । यो ऋण लिनको लागि कम्पनीले ८३ टन गोल्ड बार (सुनका बिस्कुट) धितोको रुपमा राखेको थियो । धितोको रुपमा राखिएको यो सुन नक्कली भएको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइएको थियो । यसलाई चीनको सबैभन्दा ठूलो सुनको घोटाला मानिएको छ ।

किंगोल्ड ज्वेलरी कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत छ । यो सुनको कारोबार गर्ने विश्वकै सबैभन्दा ठूलो निजी कम्पनी हो । यसको मार्केट क्याप १० मिलियन डलर छ । कम्पनीका मालिक पूर्व सैन्य अफिसर जिया झिहोंग हुन् । रिपोर्टका अनुसार किंगोल्डले १६ बिलियन युआन ऋणको लागि सुरक्षा र बीमा प्रयोजनका लागि ८३ टन गोल्ड बार जमानतको रुपमा बैंकको रिजर्भमा राखेको थियो । ती गोल्डबार सुनको जलप लगाइएका तामा भएको पाइएको छ ।

अब यो ऋण कम्पनीको ३० बिलियन युआनको सम्पत्तिबाट असुलिनेछ । असुलीको काम चीनको बीमा कम्पनी पीआइसीसी प्रोपर्टी एण्ड क्याजुअल्टी कोअपरेटिभ लिमिटेडले गर्नेछ । साथमा अन्य साना बिमा कम्पनी पनि यो काममा लाग्नेछन् । यो घोटालाको खुलासा गएको फेब्रुअरीमा भएको थियो जतिबेला किंगोल्डले डोंगगुआन ट्रस्ट कोअपरेटिभ लिमिटेडलाई तिर्नुपर्ने ऋण तिरेन । किंगोल्डले ऋण नतिरेपछि डोंगगुआन ट्रस्टले किंगोल्डले जमानतको रुपमा राखेको गोल्ड बार निकाल्यो । जाँचमा त्यो सुन नभइ तामा भएको खुलासा भयो ।

यो खुलासासँगै किंगोल्डलाई ऋण दिएका अन्य वित्तिय कम्पनीहरुमा हल्लाखल्ला भयो । यही क्रममा किंगोल्डलाई सबैभन्दा धेरै ऋण दिएको वित्तिय कम्पनी चाइना मिनशेंग ट्रस्ट अदालत पुग्यो र उसले अदालतबाट किंगोल्डले जमानतको रुपमा राखेका गोल्डबारको जाँच गराउने आदेश पास गरायो । जाँचपछि २२ मेमा मिनशेंगको रिजर्भमा जमानतको रुपमा राखिएका गोल्डबार पनि तामाका भएको खुलासा भयो ।

किंगोल्डका मालिक जिया झिहोंगले भने घोटालाको आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार जमानतमा नराखेको दावी गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार आफूसँग पनि नराखेको दावी गरेका छन् ।

किंगोल्ड कम्पनी २००२ मा स्थापना भएको हो । त्यतिबेला यो सुनको फ्याक्ट्रीको रुपमा स्थापना भएको थियो । यो फ्याक्ट्रीले पिपुल्स बैंक अफ चाइनाबाट अनुमति पाएको थियो । पछि यो कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत भयो । तर, अब घोटालाको खुलासापछि यो कम्पनीको नाम खराब भएको छ ।

पूरै विश्वमा सबैभन्दा ठूलो गोल्ड रिजर्भ अमेरिकासँग छ । अमेरिकासँग ८ हजार १३४ टन सुन छ । दोस्रो स्थानमा जर्मनीसँग ३ हजार ३६४ टन र तेस्रो स्थानको इटलीसँग २ हजार ४५२ टन सुन छ । १९४८.३० टन सुन भएको चीन छैटौं स्थानमा छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो