अन्तर्वातामा हिरोइनको बोली चिप्लिन थालेपछि बचाउन उत्रिए दीपकराज गिरी

डिसी नेपाल
१७ असार २०७७ १४:२६

काठमाडौं। पछिल्लो समय नेपाली कलाकारहरु एकपछि अर्को गर्दै ट्रोलको शिकार बन्दै आएका छन् । तीमध्ये अधिकांश नायिकाहरु छन् । पछिल्लो तीन महिनामा मात्रै ४ नायिकाहरु ट्रोलको शिकार भइसकेका छन् ।

यी सबै नायिकाहरु ट्रोलको शिकार हुनुको कारण उनीहरुको बोली हो – अन्तरवार्तामा बोलिएको । अन्तरवार्तामा उनीहरुले बोल्दा केही कुरामा उनीहरुको बोली चिप्लिएको छ जसको भिडियो क्लिप सामाजिक संजालमा भाइरल भइरहेका छन् । एकपछि अर्को गर्दै नायिकाहरु चिप्लिन थालेपछि यसको बचाउ गर्दै निर्माता तथा अभिनेता दीपकराज गिरी मैदानमा आएका छन् ।

उनले नायिकाहरुको बचाउ गर्दै सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् । स्टाटसमा उनले नायिकाहरुको बचाउ गर्दै अन्तरवार्ता लिने पत्रकारलाई समेत बराबरी दोषी भनेका छन् । अन्तर्वार्ताकारले जानी–जानी नायिकाहरुलाई ट्रोलको शिकार बनाइरहेको समेत उनले आरोप लगाएका छन् ।

अन्तर्वार्ताकारले टीआरपीको लोभमा यो सब गर्दै आएको बताएका छन् । यद्यपि उनले सबै पत्रकारलाई दोष दिन नमिल्ने भन्दै पत्रकारको छनोट नगरी अन्तर्वार्ता दिनुले पनि यो समस्या भएको बताएका छन् । पत्रकारले भन्ने बित्तिकै कुनै तयारी बिना अन्तर्वार्ता दिन नहुने गिरीको भनाइ छ । उनले अब सकेसम्म अन्तर्वार्ता नदिन र दिनै परे अन्तर्वार्ताकारको छनोट र तयारी गरेर मात्रै अन्तर्वार्ता दिन सुझाएका छन् ।

गजुरेलको सुझाव ‘धरातल नबिर्सौं’

दीपकराजको स्टाटसमा अर्का कलाकार मनोज गजुरेलले टिप्पणी गर्दै धरातल नबिर्सिन सुझाव दिएका छन् । गजुरेलले लेखेका छन् ‘आफू जे हो आफूलाई त्यो भन्दा बढी ठान्दा हामीहरु चिप्लिन्छौं । ऊ जे होइन उसलाई जबर्जस्ती त्यो बनाएर पनि पात्रहरुलाई चिप्ल्याइन्छ । चिप्लिने र चिप्ल्याउने कार्यको समाधान हो– आफ्नो सामाजिक, साँस्कृतिक, आर्थिक, नैतिक र व्यवहारिक धरातल नबिर्सनु । यति भएमा, कथं चिप्लिई हालेपनि पुग्ने भनेको आफ्नै धरातलमा हो ।’

के थियो ट्रोलको विषय ?

नायिकाहरु विगतमा पनि जिब्रो चिप्लिँदा ट्रोलको शिकार नभएका भने होइनन् । नायिका प्रियंका कार्की पटक पटक ट्रोलको शिकार बनेकी थिइन् । तर, अहिले ३ महिनाको अवधिमा ४ नायिका ट्रोलको शिकार भइसकेका छन् ।

दीपाश्री निरौला

निर्देशक तथा नायिका दीपाश्री निरौला अहिले ट्रोलको शिकार भइरहेकी छिन् । उनले एक संचार माध्यममा अन्तर्वार्ता दिदै राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइरहेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौलामाथि आक्रोशित भएका छन् । यही विषयमा पछिल्लो पटक दीपकराज गिरी बचाउमा उत्रिएका हुन् । यहाँनिर सम्झिनु पर्ने कुरा के हो भने दीपकराज र दीपाश्री कलाकारिता क्षेत्रमा झण्डै अढाइ दशकदेखि सहकार्य गर्दै आइरहेका छन् ।

पूजा शर्मा

नायिका पूजा शर्माको पनि अहिले निकै ट्रोल भइरहेको छ । शर्माले पनि केही समय अघि दीपाश्रीले दिएकै संचार माध्यममा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा सोधिएका सामान्य विषयका प्रश्नको उत्तर दिन नसक्दा उनको अहिले ट्रोल भइरहेको छ । यस विषयमा गिरीले आक्रोश पोखेका छन् । एउटा कलाकारले सामान्य ज्ञान कण्ठ गर्नै पर्छ भन्दै उल्टै प्रश्न तेस्र्याएका छन् ।

शिल्पा पोखरेल

त्यस्तै नायिका शिल्पा पोखरेल पनि अहिले ट्रोलको शिकार बनेकी छिन्। उनलाई पनि एक अन्तरवार्तामा पूजालाई जस्तै सामान्य ज्ञानकै प्रश्न सोधिएको थियो । तर, अत्यन्तै सामान्य मानिएको प्रश्नको जवाफ गलत दिएपछि उनी ट्रोलको शिकार भएकी हुन् ।

वर्षा राउत

नायिका वर्षा राउत नेपाल भारतको सीमा विवादको विषयमा बोलेर ट्रोलको शिकार भएकी थिइन् । उनको विषयमा पनि गिरीले सफाइ दिने प्रयास गर्दै उनी राष्ट्रियताको बारेमा सचेत हुँदाहुँदै कुरा स्पष्ट भन्न नसक्दा फन्दामा परेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *