भाइरसलाई ‘भ्रममा पार्ने’ अमेरिकी भ्याक्सिनको ‘ह्युमन ट्रायल’ सफल भएको दावी

डिसी नेपाल
१८ असार २०७७ १०:३४

काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गरिरहेको अमेरिकी कम्पनी इनोभियोले आफूले विकास गरेको आइएनओ–४८०० भ्याक्सिनको ४० जनामा ‘ह्युमन ट्रायल’ गरिएको र सो परीक्षण ९६ प्रतिशत सफल भएको दावी गरेको छ । कम्पनीले आफ्नो वेबसाइटमार्फत ट्रायलको विस्तृत रिपोर्ट जारी गर्दै यो ट्रायलमा १८ देखि ५० वर्ष उमेरका ४० जनालाई भ्याक्सिन दिइएको जनाएको छ ।

रिपोर्टका अनुसार यी सबैलाई ४ हप्तामा भ्याक्सिनका दुई इन्जेक्सन दिइएका थिए । परीक्षणमा भ्याक्सिनले सबैमा रोग प्रतिरोधी क्षमता बढाएको र कसैमा पनि कुनै प्रतिकूल असर नदेखिएको रिपोर्टमा जनाइएको छ । कम्पनीका बरिष्ठ उपाध्यक्षका अनुसार १० जनवरीमा चीनका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसको जेनेटिक कोड जारी गरेपछिकम्पनीको टिमले त्यो सिक्वेन्सलाई सफ्टवेयरको माध्यमबाट डिकोड गरेर भ्याक्सिनको फर्मुला तयार गरेको थियो ।

रिपोर्टका अनुसार यो डिएनए भ्याक्सिनले कोरोनाभाइरसको स्पाइक प्रोटिनको पहिचान गरेर त्यस्तै प्रोटिनको निर्माण गरी भाइरसलाई भ्रममा पारिदिन्छ । भ्रमित भाइरस जब त्यो स्पाइक प्रोटिनको नजिक जान्छ त्यसपछि भ्याक्सिनको प्रभावले निष्क्रिय हुनेछ । यो स्पाइक प्रोटिनबाट मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुनेछ किनकि भ्याक्सिनबाट स्पाइक प्रोटिन निर्माण भएपछि मानव शरीरले त्यसलाई भाइरस सम्झेर बढी मात्रामा एन्टिबडी निर्माण गर्नेछ ।

यो प्रोटिनबाट शरीरलाई कुनै नोक्सानी हुने छैन जबकि कोरोनाभाइरस भने यसबाट नष्ट हुनेछ । कम्पनीका अनुसार ३ चरणमा मानवमा ट्रायल सफल भएपछि त्यसलाई सम्बन्धित देशको औषधि नियामक आयोगकहाँ पठाइनेछ । त्यसपछि सम्बन्धित देशको सरकारी निकायले भ्याक्सिनको हरेक दृष्टिबाट सूक्ष्म अध्ययन गर्नेछ । यस क्रममा भ्याक्सिनले मानवमा कुनै नकारात्मक अर गर्छ कि गर्दैन भन्ने परीक्षण गरिनेछ । त्यसपछि मात्र भ्याक्सिन उत्पादनको अनुमति दिइन्छ । यो प्रक्रियामा ३ देखि ४ महिना लाग्छ । यद्यपि अहिले कोरोना महामारी भयानक स्तरमा भएकोले २ महिनामा पनि यो भ्याक्नि आउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *