भारतमा टिकटक प्रतिबन्धित भएपछि ‘स्टार’हरूको भविष्य अन्योलमा

डिसी नेपाल
१८ असार २०७७ १६:५७

बीबीसी । आफ्नो पहिलो नाम मात्रै बताउन चाहने गीत देशका लागि खतरा भन्दै टिकटकसहित दर्जनौँ चिनियाँ एपहरूमाथि भारतले प्रतिबन्ध लगाएपछि स्तब्ध भइन्। पेशाले वकिल रहिसकेकी गीत भारतका टिकटक स्टारमध्ये एक हुन्।

उनी एक करोडभन्दा बढी फलोअरहरूलाई तीनवटा च्यानलमार्फत् “अमेरिकी अङ्ग्रेजी” सिकाउनुका साथै सम्बन्धबारे सुझाव पनि दिन्छिन्। विगत एक वर्षयता गीतले आफ्ना खातामा करिब २०÷२० सेकेन्डका दैनिक १५ वटा भिडिओ पोस्ट गर्ने गरेकी छन्।

आफूसँग सञ्चिति कम नहोस् भनेर मोबाइल र व्यावसायिक क्यामेराबाट उनी एक दिनमै १२० वटासम्म भिडिओ तयार पार्छिन्। बाँकी दिन स्क्रिप्ट लेख्ने र भिडिओ सम्पादनको काममा उनी समय खर्च गर्छिन्।

“प्रतिबन्धबारे समाचार सुनेपछि मलाई विश्वास नै लागेन। यो त अहिले मेरो जीवनको अभिन्न अङ्ग भइसकेको छ। यो त मेरो पूर्णकालीन जागिर भइसकेको छ,” गीतले भनिन्।

उनका फलोअरहरू दुःखी भएका छन्। एकजना लेख्छन्, “अब मैले कसरी अङ्ग्रेजी सिक्ने होला?” अर्का फलोअरले लेखेका छन्, “अब मलाई कसले उत्प्रेरित गरिरहने होलारु”

भारतले ५९ वटा चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएपछि लाखौँ प्रयोगकर्ताहरू अचम्मित र स्तब्ध भएका छन्। भारतीय प्रतिबन्धमा पर्ने एपहरूमा विबो, वीच्याट र यूसी ब्राउजर लगायत छन्। भारतीय सरकारले “देशको सम्प्रभुत्ता र सुरक्षाका लागि खतरा” भएकाले ती एपहरूमाथि प्रतिबन्ध लगाइएको जनाएको छ।

हालै लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सेनासँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एपहरू बहिष्कार गर्नुपर्ने आवाज उठ्दै आएको छ।

भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले भनेको छ, “भारतका करोडौँ मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताका डेटा सुरक्षा एवम् गोपनीयतालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।”

तर प्रतिबन्धका कदमबाट “निकै चिन्तित” बनेको भन्दै निर्णयबारे पुनर्विचार गर्न बेइजिङले आग्रह गरेको छ। विज्ञहरूले भारतीय निर्णयलाई राजनीतिक कदम भन्दै दुई देशबीच बढ्दो तनावका रूपमा अर्थ्याएका छन्। निकै लोकप्रिय टिकटक चाहिँ सबैभन्दा नराम्ररी प्रभावित एपमा परेको छ।

सस्तो मोबाइल डाटा र युवा जनसङ्ख्या बढी भएको पृष्ठभूमिमा विगत तीन वर्षमा भारतमा २० करोड प्रयोगकर्ता भएका छन्। टिकटकमा पढाउने लेखक तथा पडकास्टर अमित वर्मा भन्छन्, “यो अति नै चाखलाग्दो छ। प्रतिभा देखाउन नपाएका थुप्रै मान्छेले एउटा मञ्च पाएका छन्।

‘‘रचनात्मक क्षमता भएका धेरै मान्छे यहाँ छन्।” भारतमा जन्मिएर सिआटलमा हुर्के बढेकी गीतले टिकटकमै जिन्दगी बन्छन् भनेर कहिल्यै सोचेकी थिइनन्।

इन्जिनियरिङ्ग पढेकी गीत दिल्ली फर्कनुअघि गीत ल फर्ममा काम गर्थिन्। आफ्ना आमाबुवासँग सामाजिक कार्य गर्न उनी दिल्ली फर्किन्। उनले भनिन्, “मैले जे गर्थेँ त्यसको विस्तारित रूप टिकटक हो। एउटा भिडिओमार्फत् म थुप्रै मानिसमाझ पुग्न सक्छु र सहयोग गर्न सक्छु।”

टिकटकको माऊ कम्पनी बाइटडान्सले “प्रयोगकर्ताहरूको सुरक्षा र समग्रमा भारतसँगको प्रतिबद्धताबारे कुरा गर्न तयार रहेको” बीबीसीलाई बताएको छ।

टिकटकका भारत प्रमुख निखिल गान्धीले “पछिल्लो घटनाक्रमबारे धारणा राख्न र स्पष्टीकरणका लागि सम्बन्धित अधिकारीहरूबाट बोलावट भएको” ट्विटरमा लेखेका छन्। अरू एप निर्माताहरूले प्रतिबन्धप्रति प्रतिक्रिया जनाइसकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *