लकडाउनका कारण साना व्यवसायीलाई सकस

तर्कबहादुर थापा
१९ असार २०७७ ६:२८

काठमाडौं । चावहिलको गौरीघाटमा तरकारी पसल गर्दै आएका हेटौंडाका सुरेन्द्र खनाल आजभोलि खुसी देखिँदैनन्। झण्डै १ सय दिनको लकडाउनका कारण गर्दै आएको व्यापारमा कमी आउन थालेपछि उनी चिन्तित भएका हुन्।

‘लकडाउन पहिला त राम्रै व्यापार हुन्थ्यो’, डिसी नेपालसँग खनालले भने, ‘अहिले ३० प्रतिश पनि व्यापार हुँदैन।’ व्यापार नभएपछि जम्मा गरेर राखेको पैसा पनि सकिएको उनको अनुभव छ। उनले भने, ‘झण्डै ३ महिना त पुरै बन्द नै भयो, सरकारले खोल्ने भनेपछि खोलेको व्यापार छैन, घरभाडा दिनै पर्छ। पहिला अलि अलि गरेर राखेको पैसा पनि सकिन थाल्यो।’

सरकारले चैत्र महिनाको भाडामा छुट गर्ने निर्णय गरेको छ। तर साना व्यापारीलाई भने त्यो निर्णय कागलाई वेल पाक्यो हर्ष न विस्माद भएको छ। ‘खै त्यस्तो त केही छैन्’ खनाल भन्दै थिए, ‘निर्णय भएको छ भन्ने सुनेको तर, कागलाई वेल पाक्यो हर्ष न विस्माद भएको छ।’

शंकर चोकमा मासुजन्य व्यापार गर्ने सपनाका लागि पनि सरकारले घर भाडामा दिएको छुट कसका लागि हो भन्ने भएको छ। उनले पहिला जस्तो व्यापार न हुने बताइन्। उनले भनिन्, ‘व्यापार नै छैन, झण्डै ६० प्रतिशत कम व्यापार भएको छ। ३ महिना बन्द हुँदाको पनि भाडा दिनै पर्छ। ठूला व्यापारीका लागि होलानी सरकारले दिएको छुट त।’

व्यापारबाट भएको आम्दानीबाट छोरी पढाउने र आफ्नो खर्च पनि त्यसैबाट चल्ने गरेको उनले बताइन्। ‘कोठा भाडा पनि दिनु पर्छ’, उनले सुनाइन्, ‘पसलको भाडा पनि छ। खर्च यसैबाट चलाइन्थ्यो। सबै कुराहरुमा समस्या भएको छ।’

तर, चाबहिल चोकमा मोबाइल पसल गर्दै आएका विष्णु घिमिरे भने घर भाडा छुट पाएकोमा खुसी छन्। उनले भने, ‘चैत महिनाको घरभाडा छुट पाएको छु।’
तर, पछिल्ला महिनाको भाडा तिर्न भने गाह्रो परेको उनको भनाइ छ। उनले भने, ‘व्यापार छैन १ महिनाको मात्र छुट भएर के गर्नु पछिल्ला २ महिनाको भाडा तिर्न गाह्रो छ। व्यापार झण्डै ६५ प्रतिशतले कमी भएको छ।’

‘चाबहिलमा भाडा पनि त्यस्तै छ नि’, उनले भने, ‘हामीले पसल गर्दा ऋण कर्जा लिएको हुन्छ। त्यसको ब्याज तिर्नै पर्छ। यत्रो ३ महिना पसल बन्द भयो म मात्र हैन सबै जसो साना व्यपारीहरुलाई गाह्रो नै छ।’

कोरोनाका कारण थलिएको अर्थतन्त्र र यसको प्रत्यक्ष मारमा परेका साना व्यवसायीको लागि आफूहरु लागि रहेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालको भनाइ छ।  उनले भने, ‘अनौपचारिक रोजगार सिर्जना गर्ने साना व्यवसायीका बारेमा हामीले सरकारसँग बारम्बार अपिल गरेका छौं। अपेक्षा छ सरकार उहाँहरुको माग सम्बोधन गर्न सकारात्मक रहने छ।’

सरकारले छुट गर्न भनेको घरभाडामा पनि एकरुप नियम लागू नभएको साना व्यवसायीको गुनासो छ। उनीहरु यसको प्रत्यक्ष मारमा परेका परेको बताउँछन्। उपाध्यक्ष अग्रवाल पनि यो विषयमा समर्थन जनाउँछन्।

उनी भन्छन्, ‘यो विषयमा त सरकारले नै स्पष्ट नीति लिन सकेको छैन। बहाल र तलबको बारेमा स्पष्ट नीति हुनु पर्छ भन्ने हाम्रो पनि माग हो। कतिपयले घर भाडा छोडेको खबर सुनिन्छ। कतिपयले लिएका छन्। मलहरुले ५० प्रतिशत छोडेका छन्। ठमेलमा पनि ५० प्रतिशत घरभाडा छोडेका छन्। तर, हाम्रो माग भनेको यतिले हुँदैन। हामीलाई स्पष्ट नीति चाहिन्छ भन्ने नै हो।’

आर्थिक गतिविधि चलायमान नभएका बेला सरकारले राहत दिनुको विकल्प नभएको उनको भनाइ छ। उनले भने, ‘कोरोनाका कारण हाल सम्पूर्ण अर्थतन्त्र धरापमा परेको छ। सरकारले अर्थतन्त्र चलायमान गराउन राहत दिनुको कुनै विकल्प छैन। हामीले कर तिर्न नमानेका पनि हैनौं, व्याज तिर्दैनौ भनेका पनि छैनौं तर, नगद त हुनु पर्यो नि। न्यून व्याजदरमा ऋण दिनु पर्यो। पुजिकरण गरेर जानु पर्यो भन्ने सरकारसँग हाम्रो माग हो। आशा छ मौद्रिक नीतिमा हाम्रा मागहरुको संबोधन हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *