कविताः कहाँ गयौ नेपाली ?

डिसी नेपाल
२० असार २०७७ ८:५२

कहाँ गयौ नेपाली ?
खुकुरी भिर्ने कम्मरमा
अलिकति सटही खर्च कसेर
मादल भिर्ने काँधमा
फेरफार लुगाफाटो र खाजा हालेको
छडके झोला भिरेर
दौरा सुरूवाल सन्दुकमा थन्काइ
पाइन्ट र टिसर्ट पहिरेर
गाउँको चौतारी र हाट बजार
शहरको टोल र चौक
अनि न्यूरोडको पिपल बोटलाई
सुनसान पारेर
नेपाल आमाको न्यानो काख चटक्क छाडेर ।

तराइको खेतको आली आलीमा
तिमीले धान खेतमा रोपाईँ गरेका
पाइला पाइलाको डोब अझै छन्
पहाडका डाँडा काँडामा लटरम्म फलेका
जुनार र सुन्तलाका बोटहरूले
चिसा रसिला रस ख्वाउन कुरिरहेकाछन्
तिम्रो हिमाल तिमी बिना रोइरहेछ
बग्दै बग्दै समुद्रसम्म खोजिरहेछ ।

किन गयौ नेपाली ?
देशमा काम पाएनौ कि ?
देशमा खान पाएनौ कि ?
देशमा पढन पाएनौ कि ?
देशमा बिरामी भइ थला पर्दा
उपचार गर्न सकेनौ कि ?
देशमा सोचे जस्तो बिकाश भएन कि ?
देशमा परीवारको दु:ख धान्न सकेनौ कि ?
पहिले त न्याय नपाए गोर्खा जानु भन्थे
अहिले तिमी कहाँ गयौ नेपाली ?

देश आफ्नो घर हो
परदेश अर्काको घर हो
अर्काको घर आफ्नो जस्तो कहाँ हुन्छ र ।

अर्काको घरमा
निष्फिक्री हातगोडा फिजाउन
आफ्नै भाषामा रमाउन
छठ र दशैँ मनाउन
सोरठी र तामाङसेलोमा नाच्न
कहाँ पाइन्छ र ?
सधैँ खुम्चिएर बस्नुपर्छ
बाँधिएर बस्नुपर्छ
राजनैतिक, सांस्कृतिक, सामाजिक
हरेक अधिकारले तिमीलाई
आफ्नो देशको जस्तो माया
कहाँ दिन्छ र ?

के खोज्न गयौ नेपाली ?
धन खोज्न गयौ कि ?
खुसी खोज्न गयौ कि ?
सुख खोज्न गयौ कि ?
कहाँ गयौ नेपाली ?
लस एन्जेलस, अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *