लगानी बोर्डको सिइओका लागि एक दर्जनको आवेदन

डिसी नेपाल
२१ असार २०७७ १३:४४

काठमाडौंं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि एक दर्जनको आवेदन दिएका छन्। तत्कालिन सिइओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असार ५ गते सूचना जारी गरी सिइओका लागि आवेदन माग गरेको थियो। तोकिएको समयसिमा असार १५ गतेसम्ममा पूर्व प्रशासक, बैकरलगायतको गरी १२ जनाको आवेदन परेको हो।

बोर्डका अनुसार राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, पूर्वसहसचिव लक्ष्मीविलास कोइरालाको आवेदन परेको छ।

यसैगरी हाल लगानी बोर्डमै परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल र रामकृष्ण खतिवडाका साथै विदेशी लगानीबारे विज्ञ डा.सरोज कोइराला, ऋण असुली न्यायाधिकरणका पूर्व प्रमुख शेरजङ कार्की, विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल पनि आवेदन दिएका छन्।

सिइओ छनोटका लागि अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वमका योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेल तथा अर्थशास्त्री प्रा डा गोविन्द नेपाल सदस्य रहेको छनौट समिति रहेको छ। समितिले आवेदनकर्ताबाट तीन जनालाई छनोट गर्नेछ । त्यसैबाट मन्त्रीपरिषद्ले बोर्डको प्रमुख कार्यकारी छनोट गर्नेछ।
बोर्डका प्रमुख कार्यकारी अधिकृतको अवधि ४ वर्षको हुने कानुनी व्यवस्था छ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन, बाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नाकोत्तर उर्तिण गरेको बैंकिङ, वित्तीय क्षेत्र, विकास प्रसाशनलगायतको क्षेत्रमा १० वर्ष अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *