नेपालका विषयमा जुध्दै चिनियाँ र भारतीय मिडिया
काठमाडौं। भारतसँग नेपालको सीमा विवाद, भारत–चीन सीमा विवाद र आफ्नो सत्ता पल्टाउन भारत लागिपरेको अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै दलभित्र अप्ठ्यारोमा परेको अवस्थाका बीच नेपालका विषयमा भारतीय र चिनियाँ मिडियामा वाकयुद्ध चलिरहेको छ । कूटनैतिक हिसाबले भारत सरकारकै भाषा बोल्ने मिडिया मानिएको टाइम्स अफ इण्डिया र चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले नेपालको विषयमा सम्पादकीय पृष्ठमै लेखेका छन् ।
टाइम्स अफ इण्डियाले सम्पादकीयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देश र पार्टीभित्र सृजना भएका समस्याको कारण भारत नभए स्वयं आफू भएको कुरा स्वीकार गर्नुपर्ने बताएको छ । ओलीले भारत र नेपालबीचको नजिकको सम्बन्धलाई बिगारेर चीनको पक्षमा जान चाहेका कारण पार्टीभित्र उनको राजीनामा माग्ने स्थिति आएको उसले लेखेको छ । भारतले नेपाललाई दिएको खुला सिमाना, बिना रोकटोक मानिसहरु आवतजावत गर्ने छुट र आर्थिक अवसरलाई चीनसँग कहिल्यै पनि तुलना गर्न नसकिने उसको दावी छ ।
श्रीलंकाको हम्बनटोटा बन्दरगाहको उदाहरण दिँदै उसले चीनले नेपाललाई पनि आर्थिक रुपमा आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको भनेको छ । नयाँ दिल्लीले ओलीलाई आफ्नो कमजोरीको दोष दिल्लीतर्फ थोपर्ने अवसर दिन नहुने बताउँदै उसले दिल्लीले नेपाल भारत सम्बन्ध अगाडि लैजान चाहनेहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गरेको छ । ओली सरकार आफ्नै कारणले ढल्ने उसको दावी छ ।
भारतले नेपालका लागि सबै किसिमको अवसरयुक्त छिमेकी भारत मात्रै हुन सक्ने र चीनको भारतसँग तुलना गर्नै नसकिने बताइरहँदा चीनले भने भारतलाई छिमेकीमाथि अनावश्यक दबाब नथोपर्न भनेको छ । ग्लोबल टाइम्समा लेख लेख्दै चिनियाँ कूटनीतिज्ञ वांग वेनवेनले भारतले आफ्ना दक्षिण एसियाली छिमेकीहरुलाई मित्रराष्ट्रको छनोटमा दबाब दिन नहुने भनेका छन् । भारतले आफूलाई दक्षिण एसियाको एकमात्र शक्तिकेन्द्र ठान्ने उल्लेख गर्दै उनले भारतले नेपालसहितका छिमेकीहरुलाई आफूबाहेकको शक्ति राष्ट्रसँग नजिकिनबाट रोक्न खोजिरहने बताएका छन् ।
दक्षिण एसियाली राष्ट्रहरुसँग चीनको निकटता भारतका लागि चिन्ताको विषय बन्ने उल्लेख गर्दै वांग लेख्छन् ‘तर भारतको यो अनावश्यक चिन्ता चीन र अन्य दक्षिण एसियाली देशहरुको सहकार्यमा बाधा बन्नु हुँदैन । चीनले कहिल्यै पनि क्षेत्रीय देशहरुलाई (वा कुनै पनि देशलाई) चीन वा भारतमध्ये कुनै एकको पक्ष लिन भनेको छैन । यदि भारत दक्षिण एसियामा प्रमुख भूमिका चाहन्छ भने उसले छिमेकी देशहरुको साझेदारको छनोट र विकासको आवश्यकतालाई बुझ्नु र सम्मान गर्नुपर्छ । खासगरी त्यो समयमा जतिबेला भारतीय विकल्पहरु उपलब्ध हुँदैनन् ।’
Facebook Comment