आईपीएल आयोजना गर्ने दौडमा न्युजिल्याण्ड

डिसी नेपाल
२२ असार २०७७ २२:५४

काठमाडौं । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए आईपीएल आयोजनाका लागि इच्छुक रहेको जनाएको छ । यूनाइटेड अरब एमिरेट्स (यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सेप्टेम्बर महिनाको सुरुमा वा नोभेम्बर अन्तिममा प्रिमियर लिग आयोजनाको मिति प्रस्ताव गरेको छ । आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आयोजनालाई लिएर अन्यौलता कायम रहँदा त्यसको असर इन्डियन प्रिमियर लिगको मितिमा परेको छ ।

भारतमै आयोजना गर्ने बीसीसीआईको पहिलो प्राथमिकता रहेपनि सङ्क्रमित हुनेको संख्या बढ्दै गएपछि विदेशमा सार्ने विकल्पमाथि समेत छलफल हुँदैछ । पीटीआईसँगको कुराकानीमा बीसीसीआईका एक जना अधिकारीले न्युजिल्याण्डले गरेको प्रस्ताबबारे खुलाए ।

आईपीएलको सन् २००९ को संस्करण दक्षिण अफ्रिकामा खेलाइएको थियो । सन् २०१४ को संस्करण यूएईमा सम्पन्न भएको थियो ।
तीनवटै राष्ट्रमध्ये यूएईका लागि सहज हुने बताइएको छ । श्रीलङ्का महँगो हुने र न्युजिल्याण्ड टाढा पर्ने हुँदा भारतीय अधिकारीहरु यूएईलाई आयोजना गर्न दिने विकल्पलाई प्राथमिकतामा राखेर छलफल गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *